प्रधानमन्त्रीकै प्रश्नः भारतले बिजुली किनिदिएन भने के गर्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका छन् ।दैनिक पाँच सय मेगावाटसम्म बिजुली खेर गइरहेको र यसका लागि सरकारले खपत वृद्धि र विद्युत व्यापार गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेको बेला प्रधानमन्त्री आफैंले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका हुन् । सरकारले नै खपत वृद्धि र विद्युत व्यापारका लागि […]

सम्बन्धित सामग्री

जलविद्युत्मा भारतीय लगानी

नेपालमा प्राविधिक रूपमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादन सम्भव भएको भनिँदै आए पनि सम्भावनाको ज्यादै कम मात्र उत्पादन भइरहेको छ । नेपालको निजीक्षेत्रले ठूलो परिमाणमा जलविद्युत् क्षेत्रमा लगानी गरिरहँदा भारतको निजीक्षेत्रले भने यसमा खासै चासो देखाएको छैन । मुनाफा आर्जन गर्न सकिने यस्तो हरित ऊर्जामा किन उनीहरूको आकर्षण भएन भनेर अध्ययन गर्नुपर्ने बेला आएको छ । भारत नेपालको विकासको प्रमुख साझेदार हो । नेपालको सबैभन्दा बढी व्यापार भारतसँग नै हुन्छ । यसमा नेपाल घाटामा रहने गरेको छ । नेपालबाट उत्पादित कृषि वा गैरकृषि सामग्री भारतमा निर्यात गरेर व्यापारघाटा न्यून गर्न सक्ने सम्भावना छैन भन्दा पनि हुन्छ । यो व्यापारघाटालाई न्यून गराउन विद्युत् निर्यात प्रमुख सहयोगी हुने देखिन्छ । नेपालको भौगोलिक बनोट र पानीको उपलब्धताका कारण जलविद्युत् उत्पादन गर्न निकै सजिलो छ ।  तर, भारतमा ऊर्जाको ठूलो माग भए पनि नेपाली बिजुलीको प्रवर्द्धन गर्न उसले नेपालमा लगानी गर्नुपर्ने हो । तर, उसको नेपालमा त्यति चासो छैन कि भन्ने देखिन्छ । भारतको सरकारी कम्पनीले भने नेपालको जलविद्युत्मा लगानी गरिरहेको छ । अहिलेसम्म १ हजार ९१ मेगावाटसम्मका कम्पनीमा भारतीय लगानी रहेको छ । भारतले चीनले लगानी गरेको आयोजनाबाट उत्पादित बिजुली नेपालसँग नकिन्ने नीति लिएको छ । नेपालको बिजुलीको बजार नै भारत हो । यस्तोमा नेपालले बिजुलीमात्रै निर्यात गर्न सके पनि व्यापारघाटा कम गर्न निकै सहयोगी हुने देखिन्छ ।  चिनियाँ लगानीमा ठूला परियोजना बनेका छैनन् । तर, निर्माण कम्पनीमा भने चिनियाँको बोलबाला छ । यस्तोमा नेपालको बिजुली भारतलाई बेच्न समस्या देखिन्छ । त्यसो त नेपालको बिजुली किन्न भारत तयार नभएको अवस्थामा त्यसको विकल्पबारे अहिले नै गृहकार्य थालिहाल्नुपर्छ ।  नेपालको जलविद्युत्को विकासमा भारतीय निजीक्षेत्रलाई सकेसम्म आमन्त्रित गर्नुपर्छ । सरकारी कम्पनीले उत्पादन गरेको बिजुली भारत सरकारले खरीद त गर्ला तर निजीक्षेत्रसँग त्यसको कुनै सम्बन्ध हुँदैन । निजीक्षेत्रले बिजुली पर्याप्त उत्पादन गरे भारत सरकारलाई यसका लागि बाध्य पार्न पनि सक्छन् । नेपालले गर्नुपर्ने धेरै काम उनीहरूले नै गर्न सक्छन् । त्यसैले जलविद्युत्मा भारतीय निजीक्षेत्र पनि आउन आवश्यक देखिन्छ ।  भारतमा ऊर्जाको माग जति छ त्यसअनुसार उसले नेपालबाट बिजुली लैजान आँटेको पनि देखिँदैन । उसले सौर्य ऊर्जालाई पनि समानान्तर रूपमा महŒव दिँदै आएको छ । त्यसैले अहिले भारतले बिजुली पर्याप्त किनिदिएन भने भोलिका दिनमा उसलाई नेपालको बिजुली नै आवश्यक नपर्न पनि सक्छ । यस्तोमा भारतको निजीक्षेत्रले नेपालमा विद्युत् उत्पादन गरेर लबिङ गरेर पनि उनीहरूले यहाँको विद्युत् विक्री गर्न पहल थाल्ने देखिन्छ । अर्को, नेपालमा भारतका ठूला कम्पनीले जलविद्युत्मा लगानी गरे अन्य व्यवसायी र सानातिना कम्पनी पनि नेपालमा आउन सक्छन् । त्यसैले जलविद्युत्मा भारतको निजी क्षेत्रलाई बढीभन्दा बढी मात्रामा लगानी ल्याउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।  भारतीय कम्पनीलाई मात्रै विद्युत् विक्री गर्न हुँदैन भन्दै त्यसको विरोध गर्ने समूह पनि छन् । कुनै एक कम्पनीलाई मात्रै विद्युत् विक्री गर्न थालियो भने नेपालको तेलको बजार भारतीय बजारसँग मिसिन पुग्न सक्छ । त्यसैले भारतीय निजीक्षेत्रको प्रवेशले शेयरमा थप लगानी आकर्षित हुने देखिन्छ ।

प्रधानमन्त्री देउवाद्वारा प्रतिप्रश्न : भारतले विद्युत् किनिदिएन भने के गर्ने ?

कात्तिक ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पादित ऊर्जा देशभित्रै खपतको वातावरण बनाउन  आवश्यक रहेको बताउनुभएको छ । मंगलवार राजधानीमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादक संघ(इपान) को १९औं र २०औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभयो । उहाँले भारतले नेपालको विद्युत् सँधै किन्छ भन्ने ग्यारेन्टी पनि नभएको समेत बताउनुभयो । ‘ मुलुकमा उत्पादित विद्युत् भारतले किन्दिएन भने के गर्ने ?  भारतले किन्छ भन्ने पनि छैन, त्यसैले देशभित्रको बिजुली देशभित्रै खपत गर्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘भारतले पनि आफैं उत्पादन बढाउँदैछ ।’ उहाँले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमूना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले तर भारतीय ठूला उद्योगहरु खनिज इन्धनमा निर्भर रहेकाले नेपालको बिजुलीले बजार पाउने सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो । कोइलामा निर्भर रहेका भारतीय कम्पनीले नेपालको बिजुली किन्न सक्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनको असर कम गर्न पनि जलविद्युतमार्फत स्वच्छ ऊर्जा उत्पादन र आन्तरिक खपत वृद्धिका लगानी बढाउनुपर्ने दिनुपर्ने प्रधननमन्त्री देउवाको भनाइ थियो । त्यसका लागि जलविद्युतका लगानीकर्तालाई सरकारले थप सहुलियत दिन तयार रहेको देउवाले बताउनुभयो । उहाँले ग्यास चुल्होको सट्टामा विद्युतीय चुल्हो हुनसक्छ भन्दै ब्याट्रीबाट चल्ने गाडीहरु प्रयोग गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण काठमाडौंमा धुँवा नै धुवाँ भएको भन्दै उहाँले विद्युतीय बस र गाडीहरु चलाउन लाग्नुपर्ने बताउनुभयो ।  ‘ठूला देशहरुले खनिज इन्धनको उच्च खपत गरिरहेका छन्, यसका कारण जलवायु परिवर्तन भएर हिमालहरु नांगो हुन बेर छैन, त्यसैले हामी हाइड्रोमै जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले शुरुआत गर्न सक्छौं, नेपाल नमूना पनि बन्नसक्छ ।’ प्रधानमन्त्री देउवाले जलविद्युतको लाइसेन्स मात्रै लिने र काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्।  भारतबाट अनुमति पाएपछि विद्युत् प्राधिकरणले करीब दुई सातादेखि भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरिरहेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ । प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको छ । यो पनि हेर्नुस् : भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति