रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही : औषधि व्यवस्था विभाग

वैशाख २१,  काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सोमवार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने बताए ।     उनले संक्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।      विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा विक्रीवितरण नगर्न/ नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब ५ हजार रुपैयाँ पर्छ । रासस