उत्पादकको मूल्यअनुसार जिडीपी ४२ खर्ब ६६ अर्ब पुग्ने अनुमान

जेठ १४, काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) रू. ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने भएको छ । अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको छ ।      कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भए पनि चालू आर्थिक वर्ष २०७७/७८ का प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका छन् । यद्यपि पछिल्लो एक महीनाभन्दा बढी समयदेखि कोरोनाको दोस्रो लहर आएका कारण अर्थतन्त्र थप संकुचित हुने अवस्था देखिएको छ । आव २०७६/७७ मा कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको थियो ।      मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकाले स्वास्थ्य संकटको अवस्थामा सुधार आई आर्थिक वृद्धिदर ४ दशमलव शून्य १ प्रतिशत रहने अनुमान गरिएको थियो । कोरोनाको दोस्रो लहरका कारण उक्त प्रक्षेपणसमेत पूरा नहुने अवस्थामा पुगेको छ ।      सबै प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशत      आव २०७६/७७ मा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकामा चालू आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरिएको चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिइरहेको कोभिड–१९ को दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण हुनसक्ने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।      चालू आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कूल मूल्य अभिवृद्धि क्रमशः २ दशमलव ६ प्रतिशत, ५ दशमलव शून्य प्रतिशत र ४ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस्तै चाूु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५।८ प्रतिशत, १३ दशमलव १ प्रतिशत र ६१ दशमलव १ प्रतिशत रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ । आव २०७६/७७ मा कुल लगानी ३० दशमलव ४ प्रतिशतले संकुचन भएकामा चालू आवमा १८ दशमलव १ प्रतिशतले वृद्धि भई रु १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा)  मा ५ दशमलव ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर एक हजार १९१ पुगेको अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी ४ दशमलव ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर एक हजार ४८६ पुगेको अनुमान मन्त्रालयको छ ।      चालू आर्थिक वर्षको फागुन मसान्तसम्म औसत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ५ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ६ दशमलव ५ प्रतिशत थियो । सार्वजनिक खर्च व्यवस्थापनमा गरिएका सुधारबाट अपेक्षित नतिजा हासिल भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।      यस अवधिमा सरकारबाट वित्तीय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तीय अनुशासनको अवस्था सुदृढ हुँदै गएको छ । चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ दशमलव ५ प्रतिशतले सुधार भई रू. २९ अर्ब १६ करोड रहेको छ । आव २०७६/७७ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव १ प्रतिशत रहेको थियो ।      यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमतामा अभिवृद्धि भएको छ । चालू आर्थिक वर्षको फागुनसम्म रू. एक खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ । चालू आवको फागुनसम्म रू. सात अर्ब ४८ करोड अनुदान र रू. ८५ अर्ब दुई करोड ऋण गरी जम्मा रू. ९२ अर्ब ५० करोड अन्तरराष्ट्रिय विकास सहायता परिचालन भएको छ । त्यसैगरी यस अवधिमा ऋणतर्फ रू. ५० अर्ब ३८ करोड र अनुदानतर्फ रू. नौ अर्ब ७१ करोड गरी जम्मा रू. ६० अर्ब नौ करोड अन्तरराष्ट्रिय विकास सहायता उपयोग भएको छ ।      ६ खर्ब ४२ अर्ब बराबरको विप्रेषण भित्रियो      गत फागुन मसान्तसम्म रू. छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । गत आवको सोही अवधिमा रू. पाँच खर्ब ९१ अर्ब १९ करोड बराबरको विप्रेषण आप्रवाह भएको थियो । गत फागुन मसान्तसम्म रू. १४ खर्ब ३६ अर्ब ५४ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको छ ।   प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आवमा तीन लाख ७० हजार ७३४ सूचीकृत बेरोजगारमध्ये एक लाख पाँच हजार ६३५ ले रोजगारी प्राप्त गरेकामा चालू आवको फागुन मसान्तसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत सात लाख ४३ हजार ५०३ बेरोजगारले रोजगारी प्राप्त गरेको सर्वेक्षणमा समेटिएको छ । रासस