महीनामै चारपटक अण्डाको मूल्यवृद्धि, 'किसान पलायन हुने अवस्था आएपछि भाउ बढाउन बाध्य'

काठमाडौं । एक महीनाभित्रै अण्डाको मूल्य चारपटक बढेको छ । उत्पादन लागतअनुसार मूल्य नपाएर किसान घाटामा गई पलायन हुने अवस्था आएपछि मूल्य बढाउनु परेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । संघले पछिल्लोपटक चैत २८ गते निर्णय गरी प्रतिक्यारेट फार्म मूल्य ठूलोको ३ सय ७५ र मध्यमका ३ सय ५० रुपैयाँ तोकेको छ । उपभोक्ता मूल्य प्रतिअण्डा १५ रुपैयाँ तोकिएको छ । यसअघि संघले चैत ९, २१ र २३ मा अण्डाको मूल्य बढाएको थियो । चैत ९ मा गरेको मूल्यवृद्धिलाई आधार मान्दा महीना दिनभन्दा कम अवधिमा ठूलो अण्डाको मूल्य प्रतिक्यारेट ४५ रुपैयाँले बढेको छ । त्यसबेला ठूलो अण्डाको फार्म मूल्य प्रतिक्यारेट ३ सय ३० रुपैयाँ थियो । मध्यम अण्डाको भाउ यस अवधिमा प्रतिक्यारेट ५० रुपैयाँले महँगिएको छ । चैत ९ मा मध्यम अण्डाको फार्म मूल्य ३ सय रुपैयाँ प्रतिक्यारेट थियो । संघका महासचिव प्रविन केसीले अण्डा व्यवसायमा ठूला किसान र बिचौलिया हाबी हुँदा साना किसान मारमा परेको बताए । बिचौलियाका कारण किसानले लागतअनुसार मूल्य पाउन नसकेकाले अधिकांश किसान पलायनको बाटोमा पुगेको उनको भनाइ छ । अहिले नेपालभर हरेक दिन ३९ लाख गोटा अण्डा उत्पादन हुन्छ । माग ३५ लाख गोटा छ । हरेक दिन ४ लाख गोटा अण्डा बढी उत्पादन छ । उत्पादन बढी र माग कम हुँदा बिचौलिया र ठूला किसानको मिलेमतोमा लागत मूल्यभन्दा कममा किसानसँग अण्डा किनेर बजारमा महँगोमा विक्री गर्ने परिपाटीले साना किसान मारमा पर्ने गरेको बताइन्छ । ‘अहिले पनि अण्डाको लागत प्रतिगोटा १४ रुपैयाँ छ तर किसानले बिचौलियालाई १२ रुपैयाँ ५० पैसामा विक्री गर्नुपरेको छ,’ उनले भने, ‘बीचको नाफा बिचौलियाले लिन्छन् । किसान मारमा छन् ।’ संघले पशु सेवा विभाग र मन्त्रालयलाई पहिले नै अण्डाको लागत र किसानले पाउने मूल्य तोक्न तथा मूल्यमा एकरूपता कायम गरिदिन पटकपटक आग्रह गरे पनि मन्त्री फेरबदलका कारण सम्भव नभएको बताएको छ । भारतसँगको सीमा नाकाबाट सस्तो मूल्यमा अण्डा ल्याएर नेपालमा महँगोमा बेच्ने गिरोह सक्रिय हुँदा नेपाली किसान मर्कामा परेको व्यवसायी बताउँछन् । भारतमा अहिले एक क्यारेट अण्डाको मूल्य नेपाली रुपैयाँ २ सय ८८ पर्छ । उताबाट अवैध रूपमा नेपाल ल्याए महँगोमा बेच्न पाइने हुँदा नेपाली अण्डा बेच्न समस्या भएको केसी बताउँछन् ।