घटेको बजारमा तीन कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि, ३ अर्ब ४९ करोड बराबरको धितोपत्र कारोबार

काठमाडौं । केही दिनयता शेयर बजार सुस्त देखिएको छ । नेप्सेले एउटा निश्चित लय समात्न सकेको छैन । नयाँ अर्थमन्त्री नियुक्त भएपछि केही दिन लगानीकर्तामा उत्साह देखिए पनि अहिले त्यो उत्साह सुस्ताएको छ । यसो त अर्थमन्त्रीले पूँजी बजार सुधारका कार्यक्रम अघि सार्ने बताइरहेका छन् । नियामक तथा अन्य सरोकारवालासँग पनि उनले सुझाव लिएका छन् । यद्यपि यसलाई पनि बजारले अझै राम्रोसँग लिन सकेको छैन ।  बढ्दो तरलता र निरन्तर घट्दो क्रममा रहेको ब्याजदरले पनि बजार सुधार्न नसकेपछि अब यी अवरोधका रूपमा देखिएका नीतिगत विषयलाई नियामक निकायहरूले सम्बोधन गर्नुपर्ने जानकार बताउँछन् । समग्रमा हेर्दा लगानीकर्ताको मनोबल नै सकारात्मक हुन नसकेको उनीहरूको भनाइ छ ।   बुधवार पनि नेप्से परिसूचक ३ दशमलव ३४ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ६३ दशमलव ९५ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०९ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत वृद्धि भएको छ ।  ३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटकमा रू. ३ अर्ब ४९ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशत वृद्धि भएको छ । गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । गोर्खाज फाइनान्सको शेयर मूल्य रू.९४६ र बुद्धभूमि नेपालको शेयर मूल्य रू. ६०५ पुगेको छ । त्यस्तै सर्वोत्तम सिमेन्ट्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ६७२ दशमलव ७० पुगेको छ ।  बुधवार सबैभन्दा बढी बोटलर्स नेपाल बालाजुका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ३२ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार ३५० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य ८ दशमलव ०८ प्रतिशत घटेर रू. ८ दशमलव ३१ मा कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४९३ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने सूचीमा दोस्रोमा रहेको शिवम सिमेन्ट्सको रू. १७ करोड ६० लाख बराबरको भएको छ ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत घटेको छ ।  

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

कात्तिकमा सोनापुर मिनरल्सको सर्वाधिक रकमको कारोबार

काठमाडौं । कात्तिक महिनामा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार सार्वजनिक गरेको मासिक तथ्याङ्कको आधारमा यस कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको देखिएको हो । नेप्सेका अनुसार कात्तिकमा सोनापुर मिनरल्सको ४७ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १९ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । प्रिमियम मूल्यसहित सर्वसाधारणमा आईपीओ जारी गरी कात्तिक २ गते कम्पनीले धितोपत्र दोस्रो बजारमा ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । दशैंको बिदाका कारण सूचीकृत भएको ९ दिनपछि अर्थात् कात्तिक १२ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको थियो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ३५० मा खुला भएको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । कारोबारका शुरुआती दिनमा कम्पनीको शेयर मूल्यमा निरन्तर नकारात्मक सर्किट लागेर आईपीओ खरीदकर्ताहरू नै घाटामा पुगेका थिए । पछिल्लो समय भने कम्पनीको शेयर मूल्य ३०० रूपैयाँ ३० पैसा रहेको छ ।  मूल्य बढेको अवस्थामा पछिल्ला कारोबार दिन पनि कम्पनीको शेयर कारोबार सर्वाधिक स्थानमै भइरहेको छ । सोमवार पनि १ अर्ब १९ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कात्तिकमा सर्वाधिक रकमको शेयर कारोबार हुने १० कम्पनीभित्र सोनापुर मिनरल्ससँगै सोल्टी होटल, हाथवे इन्भेष्टमेण्ट, सानिमा जिआईसी इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन बैंकको भने संस्थापक तर्फको १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।  सर्वाधिक दोस्रोमा भने यो महिना सोल्टी होटलको शेयर कारोबार भएको छ । सोल्टी होटलको २७ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै हाथवे इन्भेष्टमेण्टको २६ करोड ९८ लाख रुपैयाँभन्दा बढी, सानिमा जिआईसी इन्स्योरेन्सको २६ करोड ६० लाख रुपैयाँभन्दा बढी, नबिल बैैंकको २४ करोड १९ लाख रुपैयाँभन्दा बढी, सिटिजन लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढी, शिवम् सिमेन्टको १९ करोड ६० लाख रुपैयाँभन्दा बढी, एनआईसी एशिया बैंकको १८ करोड ३४ लाख रुपैयाँभन्दा बढी र रिलायबल नेपाल लाइफको १७ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले पुष्टि गरेको छ । कात्तिक महीनामा दशै र तिहारको बिदा परेकाले जम्मा १२ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । १२ कारोबार दिनमा कात्तिक महीनामा धितोपत्र दोस्रो बजारमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजारभन्दा बढी धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको छ । कात्तिकमा सर्वाधिक रकमको कारोबार भएका १० कम्पनी स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

लामो बिदापछि खुलेको बजारमा १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । तिहार र छठको लामो बिदापछि सोमवारदेखि खुलेको धितोपत्र दोस्रो बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२ कारोबार दिनपछि दोस्रो बजारमा १ अर्बभन्दा बढीको धितोपत्र कारोबार भएको हो । सोमवार ४४ हजार ७२७ पटकको व्यापारमा उक्त रकम बराबरको ३३ लाख १९ हजार ५५८ कित्ता धितोपत्र कारोबार भएको हो ।  कुल कारोबारमा हिमालय डिष्टिलरीको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको ४१ हजार ९४२ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने ७ दशमलव शून्य १ प्रतिशत घटेको छ । यो दिन प्रतिकित्ता १३१ रुपैयाँले घटेर हिमालयन डिष्टिलरीको अन्तिम शेयर मूल्य १ हजार ७३७ रुपैयाँ कायम भएको हो । यो दिन समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक नेप्से परिसूचक भने १ दशमलव ३९ अंकले बढेर १ हजार ८५३ दशमलव ४८ विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक न्यूनतम १ हजार ८४६ दशमलव ५२ विन्दुसम्म झरेको थियो भने अधिकतम १ हजार ८७३ दशमलव ३४ विन्दुसम्म पुगेको थियो । सामान्य बढेको बजारमा दुई कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य प्रतिकित्त ८३ रुपैयाँले बढेर अन्तिम मूल्य ९१५ रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य २७७ रुपैयाँ १० पैसा कायम भएको छ । यो दिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ । फरवार्ड माइक्रोफाइनान्स र सयपत्री हाइड्रोपावरको १० प्रतिशतले र माथिल्लो मैलुङखोला जलविद्युतको ९ दशमलव ९९ प्रतिशत शेयर मूल्य घटेको हो । फरवार्ड लघुवित्तको प्रतिकित्ता १२० रुपैयाँ ९० पैसाले घटेर अन्तिम मूल्य १ हजार ८८ रुपैयाँ ६० पैसा र सयपत्री हाइड्रोपावरको प्रतिकित्ता ५० रुपैयाँ ७० पैसाले घटेर अन्तिम मूल्य ४५६ रुपैयाँ ३० पैसा कायम भएको हो । माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य भने प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले घटेर अन्तिम मूल्य २५९ रुपैयाँ ६० पैसा कायम भएको छ । यस दिन उत्पादन तथा प्रशोधनको १ दशमलव ९१ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ८३ प्रतिशत, लघुवित्तको १ दशमलव ४२ प्रतिशत र अन्य समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ । अन्य समूहको परिसूचक भने यो दिन बढेको छ । बैंकिङको शून्य दशमलव २० प्रतिशत, विकास बैंकको १ दशमलव २६ प्रतिशत, वित्तको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३१ प्रतिशत, लगानीको शून्य दशमलव ७३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७५ प्रतिशत र व्यापारिक समूहको १ दशमलव ४२ प्रतिशत परिसूचक बढेको छ । परिसूचकमा आएको वृद्धिलाई आधार मान्दा सोमवारको बजारबाट व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सोमवारको कारोबारमा कुल बजार पूँजीकरण ४ अर्ब ७४ करोड ५० लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन कात्तिक २३ गते २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

११ हप्तापछि बुधवार बजार घट्ने रेकर्ड ब्रेक

काठमाडौं । सन् २०२२ लागेपछि हरेक बुधवार बजार घट्दै आएको थियो । तर, यो बुधवार उक्त रेकर्ड ब्रेक भएको छ । यसअघिका ११ ओटा बुधवार लगातार घटेको धितोपत्र बजारको सूचक नेप्से यो बुधवार ४० दशमलव ६८ अंकले बढेपछि रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार १ दशमलव ६१ प्रतिशतले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ । ‘नयाँ अंग्रेजी वर्ष लागेसँगै प्रत्येक बुधवार बजार घटेको रेकर्डले पछिल्लो समय लगानीकर्तामा बुधवार बजार घट्छ भन्ने मनोविज्ञान विकास भएको थियो,’ एक जना लगानीकर्ता दुर्गा तिवारीले भनिन्, ‘उक्त रेकर्ड ब्रेक भएसँगै लगानीकर्तामा बुधवारको कारोबारका विषयमा रहेको अनुमान गलत प्रमाणित भएको छ ।’ धितोपत्रको दोस्रो बजारको उतारचढाव लगानीकर्ताको मनोविज्ञानमा समेत भर पर्ने भएकाले आगामी दिनमा बुधवार बजार घट्छ भन्ने मान्यता अन्त्य हुने विश्वास उनको छ । पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको बजार बुधवार लगानीकर्ता सस्तोमा शेयर उठाउन सक्रिय हुँदा ‘बाउन्स ब्याक’ भएको तिवारीको भनाइ छ । सरकारको पूँजीगत खर्च बढ्दै जाँदा बजारमा तरलता सहज हुने विश्वाससहित लगानीकर्ता बजारप्रति सकारात्मक बनेको उनी बताउँछिन् । अहिलेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल आइसकेकाले लगानीकर्ता सस्तोमा शेयर किन्न उत्साहित देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले धितोपत्र बजार प्रभावित बनेको भन्दै उनले यो समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरिन् । अर्का लगानीकर्ता नयन बाँस्तोलाले पनि बुधवार बजार घट्ने प्रवृत्तिमा ब्रेक लाग्दा लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताए । लामो समय बुधवारको बजार निरन्तर घटेकै कारण लगानीकर्ताको मनोविज्ञानमा परेको असर भोलीका दिनमा समाप्त हुनेमा उनी आशावादी छन् । पछिल्लो समय पूँजीबजारका लगानीकर्ता सामाजिक सञ्जालमा आएका अभिव्यक्तिबाट पनि प्रभावित हुने गरेकाले बजारसम्बद्ध पक्षले सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुपर्ने उनले बताए । चुनावी माहोल बन्दै जाँदा वित्तीय प्रणालीमा तरलता थपिने आशले बजारलाई सकारात्मक बनाउने विश्वास उनको छ । बुधवार पाँच कारोबार दिनपछि बढेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य एकै दिन ५९ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । मंगलवार ३५ खर्ब ८६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधवार ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । यस दिन कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको यो दिन चार कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ९ दशमलव ९९ प्रतिशत र सामलिङ पावर कम्पनी लिमिटेडको ९ दशमलव ८४ प्रतिशत शेयर मूल्य बढेको हो । बुधवार बढेको बजारमा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको ४५ लाख २ हजार ५११ कित्ता धितोपत्र खरीद–विक्री भएको छ । कारोबार अवधिभर २३२ धितोपत्रमध्ये १९९ धितोपत्रको मूल्य बढेर बन्द भएको छ भने २४ धितोपत्रको मूल्य घटेर बन्द भएको छ । बाँकी ९ धितोपत्रको मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । मूल्य घटेर कारोबार हुनेमा भने ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ शीर्ष स्थानमा रहेको छ । सो डिबेन्चरको मूल्य २ प्रतिशत घट्दा अन्तिम मूल्य रू. ९२१ दशमलव २० मा सिमित छ । समूहगत कारोबार रकमका आधारमा बुधवार जलविद्युत समूहले सर्वाधिक हिस्सा ओगटेको छ । बुधवारको कुल कारोबारमध्ये २० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ४५ करोड ८७ लाख बराबरको धितोपत्र किनबेच भएको छ । त्यसैगरी वाणिज्य बैंक समूह सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा रहेको छ । उक्त समूहको रू. ३१ करोड ८८ लाख बराबरको धितोपत्र किनबेच भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेर बन्द भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको छ । यस्तै विकास बैंक समूह र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्रै रू. ३२ करोड ३ लाख बराबरको धितोपत्र कारोबार भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. २१ करोड १५ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. १० करोड ८७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । हालको बजारमूल्य बिहीवारको दैनिक पिभटभन्दा माथि छ । तर, यो साताको साप्ताहिक पिभट र चैतको मासिक पिभटभन्दा तल छ ।