मेटलाइफको ‘हेलो बीमा’ कमिक्स भिडियो सार्वजनिक

काठमाडौं । बीमा प्रदायक कम्पनी मेटलाइफ नेपालले बीमाको महत्त्वबारे जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बीमा’ नामक कमिक्स भिडियो शृंखला सार्वजनिक गरेको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र समाजमा रहेका बीमासम्बन्धी गलत धारणालाई हटाउन यसका तीन शृंखला सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । पहिलो शृंखलामा बीमाको आधारभूत कुरा, जसमा सेवाको फाइदा र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृंखलामा प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरको बारेमा जानकारी, व्यतीत बीमालेख पुन:स्थापना गर्ने कदम र ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको बताइएको छ । तेस्रो शृंखलामा बीमा दाबी गर्ने तरीका, विभिन्न प्रकारका बीमा र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनोट गर्ने भन्नेबारे जानकारी दिइएको छ ।