विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै चिकित्सकसहितको टोली पुर्याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने निर्णय प्रेस युनियनले गरेको हो ।
कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिने अभियान शुरू गरिने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । सुनसरीमा कोरोनाबाट संक्रमित १२ पत्रकारमध्ये कोही अस्पतालमा छन् भने कोही होम आइसोलेसनमा बसेका छन् ।
संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श दिने र आवश्यक औषधोपचार गर्नेगरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनको सहमति भएको अध्यक्ष अधिकारीले बताए । घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुन सहज हुने अपेक्षा गरिएको छ । साथै इटहरी–१० मा उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा निर्मित आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीलाई क्सिजनसहितको निःशुल्क स्वास्थ्य सेवा दिने तयारी गरिएको छ ।