उद्योग परिसंघ र प्रस्तावित राजदूत बीच छलफल, अमेरिकी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह

माघ १, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन अमेरिकाका लागि प्रस्तावित राजदूतलाई आग्रह गरेको छ । साथै परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवर्द्धन गर्न र पर्यटन प्रवर्द्धनमा जोड दिन पनि उनीसमक्ष आग्रह गरेको छ । शुक्रवार आयोजित छलफलमापरिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न  पहलकद्मी गर्न आवश्यक रहेको बताए । छलफलमा परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवर्द्धनमा जोड दिन आग्रह गरेको छ ।  नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेकाले स्तरोन्नतीसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि उनले आग्रह गरे । ‘नेपालका केही वस्तुमात्रै अमेरिका निर्यात भइरहेका छन्, तिनीहरूको प्रवर्द्धनका लागि विशेष पहल गर्नुपर्छ,’ उनले भने ।  परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारत बीच भएको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्दा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने उल्लेख गरे । छलफलमा प्रस्तावित राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने उल्लेख गरे । नेपाली वस्तुलाई अमेरिकामा सुविधासहित प्रवेश गराउन आफूले सक्दो पहल गर्ने पनि उनले बताए । सहितको पदाधिकारीहरूसँगको छलफलमा प्रस्तावित राजदूत श्रीधर खत्रीलाई निर्यात प्रवर्द्धनसँगै देशको पर्यटन विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरिएको परिसंघले जनाएको छ । छलफलमा पस्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारमासहज पहुँच स्थापित गर्न तथा बजार विस्तारमा प्रयास गर्न खत्रीलाई आग्रह गरिएको हो । मुलुकको पर्यटन प्रवर्द्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट सबल बनाउनेतर्फ विशेष ध्यान दिन पनि परिसंघले खत्रीलाई आग्रह गरेको छ । परिसंघको प्रस्तावहरु सकारात्मक भएको भन्दै खत्रीले आफूले सक्दो पहल गर्ने र आवश्यक सल्लाह सुझावसहित अघि बढ्ने बताएका थिए ।