पर्वतमा खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा थप

असार ७, पर्वत । पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा केहि खुकुलो बनाएर थप एक हप्ता लम्ब्याइएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतले सोमवार जारी गरेको सूचना अनुसार निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुनेछन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार सोमवार राति १२ बजेबाट लागू हुने गरि असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताईन् ।  प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । सार्वजनिक यातायात भने सञ्चालन नहुने भएका छन् ।   यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्विमिङ पुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । विद्यालयको पठनपाठन र भौतिक उपस्थितीमा हुने परीक्षा सञ्चालन गर्न नपाईने भएको छ ।  यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । सर्वासाधारणलाई अनावश्यक काम नपरि घर बाहिर ननिस्कन र अत्यावश्यक काम परेर निस्कनु परेमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न भनिएको छ ।  सरकारी कार्यालयहरु आलोपालो गरेर खुलाउने र कार्यालय परिषरमा साबुनपानीको व्यवस्था गर्न आदेशमा भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्न भनिएको छ । विवाह, व्रतबन्ध तथा अन्य संस्कार जन्य गतिविधी पार्टी प्यालेसमा नगर्न र त्यस्ता समारोहमा १० जना भन्दा बढि मानिस सहभागी नहुने प्रसासनको आदेशमा उल्लेख गरिएको छ ।  बैंक, वित्तिय संस्था, सहकारीहरु भने सञ्चालन हुने भएका छन् । सार्वजनिक निर्माण र व्याक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेबस्ने व्यवस्था गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरिएको छ ।