पुनर्निर्माणका प्राविधिकले साउनदेखिको सुविधा बल्ल पाए

काठमाडौं । पुनर्निर्माणमा खटिएका ४ हजार प्राविधिक कर्मचारीले चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखिको सुविधा बल्ल पाएका छन् । सरकारले चालू आवको साउनदेखिको सञ्चार तथा यातायात खर्चबापतको ८ करोड ३४ लाख रकम बुधवार निकासा गरेसँगै उनीहरूले रोकिएको यस्तो रकम पाउने निश्चित भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले १ वर्षदेखि पाउन बाँकी रहेको उक्त रकम निकासा भएको जानकारी दिएको हो । नयाँ सरकार आएसँगै अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्मा र सम्बन्धित अधिकारीसहित बुधवार बसेको बैठकको निर्णय अनुसार उक्त बजेट निकासा गरिएको हो । यसैगरी पुनर्निर्माणमा खटिएका ती प्राविधिक तथा इन्जिनियरहरूको करार अवधि पनि कात्तिक मसान्तसम्म थप भएको प्राधिकरणका कार्यकारी समितिका सदस्य हरिराम पराजुलीले जानकारी दिए । उनले सोही बैठकले यस्तो निर्णय गरेको बताए । प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)तर्फका इन्जिनियरले विभिन्न माग राखेर यही असार १० गतेदेखि सिंहदरबार घेराउ गर्ने लगायत कार्यक्रमसहित आन्दोलन गरेका थिए । त्यसपछि असार १३ गते नै प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरूले पाउने निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । सोहीअनुसार सरकारले उक्त रकम निकासा गरिदिएको छ । आन्दोलनमा रहँदा उनीहरूले सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता नियम अनुसार चालू आवको साउनदेखिकै उपलब्ध गराउन माग राखेका थिए । चालू आवको असार मसान्तसम्ममा प्राविधिकको करार अवधि रहे पनि कोरोना महामारीका कारण पुनर्निर्माणमा बाधा आएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिले पुनर्निर्माणका काम कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले पुनर्निर्माणतर्फ निजी आवास पुनर्निर्माणको काम चालू आवभित्रै सम्पन्न गर्ने तयारी गरेको थियो । त्यससँगै भवनतर्फ कार्यरत इन्जिनियर तथा प्राविधिकको करार अवधि स्वतः सकिँदै थियो । तर, पुनर्निर्माणको अवधि पनि बढेको भन्दै बुधवार बसेको बैठकले प्राविधिकको करार अवधि पनि कात्तिक मसान्तसम्म थपेको हो । प्राधिकरणको तथ्यांकअनुसार २०७२ वैशाखको भूकम्पबाट क्षति भएकामध्ये हालसम्म ६ लाख ११ हजार ६४८ घर बनिसकेका छन् भने निजी आवास बनाउन हालसम्म ८ लाख २३ हजार ३३३ लाभग्राहीसँग सम्झौता भएको छ ।  

सम्बन्धित सामग्री

सरकारका उम्दा कामहरू

सरकारहरूले जनताको सुखसुविधाका लागि यति धेरै काम गरिरहेका छन् कि त्यो गनेर र भनेर भ्याइन्न । तर जनता त्यो देख्दैनन् । सधैं सरकारप्रति गुनासो मात्र गरिरहन्छन् । तिनले सरकारको तारिफ कहिल्यै गर्दैनन् । सरकारको प्रशंसा गर्ने काम केवल केही चाटुकार र सरकारबाट फाइदा लिइरहेका वा लिने लाइनमा भएका केही सीमित भक्तजनकोमा मात्र सीमित रहन्छ । जनताले नदेख्ने गरी थाहै नपाउने गरी सरकारले जनताका लागि के के गर्छ वा गरिरहेको छ र भन्नुहोला । पहिलो काम त सरकारले जनताबाट कर उठाउँछ । कर गरी गरी घरघरबाट कर उठाएको उठायै छ । जनता ऋणमा डुबून् कि शोकमा परून् कि भोकमा मरून्, सरकार करको शौख छाड्दैन । सरकारलाई थाहा छ कर उठाएन भने मानिसहरू अल्छी हुन थाल्छन् । कामै गर्दैनन् । आफ्ना जनतालाई अल्छी बनाउन त भएन नि !   चेलीबेटीहरूलाई समेत जिउँदै मर्ने अवसर त छिमेकी देशमै उपलब्ध गराइराखेको छ सरकारले । कतिपयलाई विदेशका जेलमा सड्ने अवसर छ । कफिन बाकसमा स्वदेश फिर्ने सुविधासमेत सरकारले मिलाएको छ । अर्को काम, सरकारले जसरी हुन्छ महँगी बढाउँछ । महँगी बढ्नु भनेको अर्थतन्त्र बढ्नु हो रे । भनेको, जनताको किन्ने क्षमता बढ्नु हो । अर्थात् जीवनस्तर बढ्नु हो । जब महँगी बढ्छ, तब जनता अझ बढी सक्रिय, अझ बढी सृजनशील हुन बाध्य हुन्छन् । यो अर्थशास्त्रको, खासगरी नेपाली सरकारी अर्थशास्त्रको एउटा सिद्धान्त हो, जसले नोबेल पुरस्कार चाँडै पाउनेवाला छ । सबैभन्दा महङ्खवपूर्ण काम त हाम्रो जस्तो सरकारले जनतालाई विभिन्न परिस्थितिहरू सृजना गरिदिएर आत्महत्या गर्नेसम्मको सुविधा प्रदान गरिरहेको हुन्छ । जनसंख्या बढी भएपछि घटाउने यो आइडिया विश्वकै उत्कृष्ट हो । माल्थस जस्ता अर्थशास्त्रीले पत्ता लगाएको यो सिद्धान्त नेपालले नमान्ने कुरा हुन्छ र ? तर, केही समययता भने सरकार पूर्ण सरकार जस्तो बन्न सकेको छैन । त्यसैले होला सरकारले धेरैलाई आत्महत्या गर्ने सुविधाबाट समेत वञ्चित गरिरहेको देखिन्छ । पहिले पहिले जताततै रुखैरुख हुन्थे । आत्महत्या गर्न चाहने जीवले जुन रुखमा पासो लगाए पनि हुन्थ्यो । तर, अब रुखमा पुग्न समय लाग्ने भएको छ । अहिले आफू नजिकका रुखका ठाउँमा कि घर उम्रेका छन् कि त बाटाघाटा घुम्रेका छन् । शायद त्यसैले मानिसहरूको आत्महत्या गर्ने अधिकारको संरक्षणका लागि ‘दीर्घायु आत्महत्या एशोसिएशन’ अनौपचारिक संस्था स्थापित भएको छ । उसले सरकारसँग धेरैभन्दा धेरै रुखहरू लगाइयोस्, ताकि पल पल मरिरहनुभन्दा एकैचोटि सजिलै मर्न पाइयोस् भनेर जोडदार माग गरिरहेको छ । काठमाडौंमा जनताले आत्महत्या गर्ने रानीपोखरी पनि तारबार लगाएर बन्द गरिदिएको छ । त्यो पनि खुलाउनुपर्छ भन्ने माग छ । एशोसिएशनका अनुसार अहिले जनताका लागि सरकारले मर्ने कुरामा विकल्पहरू दिन चुकेको छ । तर यस कुरामा म सहमत छैन । सरकारले जनताहरूलाई मर्न वा आत्महत्या गर्नका लागि झन् नयाँ नयाँ र धेरै विकल्पहरू दिइरहेको छ । जो रुखमा झुन्डन सक्तैनन्, उनीहरू तुइनमा झुन्डन सक्छन् । नत्र ती बस, जीप वा ट्र्याक्टरमा झुन्डिएर नेपालको कुनै सडकमा जान सक्छन्, जहाँ सजिलै मर्ने सम्भावना रहन्छ । कतिपय अवस्थामा प्लेनमा उड्न सक्छन् । प्लेनमै सिद्धिन सक्छन् । प्लेन चढ्नुअघि सामान्यतया ४–६ घण्टा, नत्र दिनैभरि समेत विमानस्थलको प्रतीक्षालयमा पाए बेन्चमा नभए भुँइमा आरामसँग पल्टिएर बस्ने सुविधा समेत दिएको छ सरकारले । यति गर्दा पनि सरकारले सुविधा दिएन भन्न मिल्च ? अझ देशमा मर्न नचाहनेहरूलाई विदेशमा विभिन्न कानूनी, गैरकानूनी बाटोबाट समुद्रको बाटो हुँदै गएर उतै मर्ने अवसर दिएको छ । चेलीबेटीहरूलाई समेत जिउँदै मर्ने अवसर त छिमेकी देशमै उपलब्ध गराइराखेको छ सरकारले । कतिपयलाई विदेशका जेलमा सड्ने अवसर छ । कफिन बाकसमा स्वदेश फिर्ने सुविधासमेत सरकारले मिलाएको छ । यो सबै गर्न सरकारले मन्त्रालय नै खडा गरेको छ । विदेशस्थित कूटनीतिक नियोगहरू परिचालन गरेको छ । यस्तो महान् कार्य गर्ने सरकार छ कतै विश्वमा ? त्यसो त हाम्रा सरकारहरू, प्रशासन संयन्त्र सबै सबै जनतालाई मर्नका लागि राम्रै सुविधा दिइरहेका छन् । एउटा सानो काम गर्नका लागि दर्जनौं पटक धाउनु, हाकिमहरूलाई साष्टांग दण्डवत् टक्र्याउनु, साथमा नैवेद्यभेटी चढाउनुपर्ने जस्ता कुराहरू भनेकै सरकारले आत्महत्या गराउने निर्धारित लक्ष्य पूरा गर्नकै लागि बनाइएका परम्परा त हुन् । पानीको आपूर्ति प्रणालीमार्फत दूषित पानी दिएर होस्, पानी नदिएरै होस् वा सडकमा खाल्टाखुल्टी बनाइराखेर होस् जनतालाई मर्नुपर्ने वातावरण सरकारले तयार गर्दिराखेकै छ । अझ विषादीको परीक्षण नगरी तरकारी बेच्न दिएर होस्, छिमेकबाट अति सजिलै अत्यन्त विषादीयुक्त खाद्यान्न, फलफूल र तरकारी निर्बाध भित्रन दिएर होस् वा खाद्य पदार्थमा मिसावट गर्न दिएर उसले मर्नका लागि सहज बाटो बनाएको बनायै छ । छिमेकबाट बेरोकटोक औषधिका नाममा छिर्ने विषका विषय त अब कसैको पनि सरोकारको विषयसम्म पनि रहेन । योभन्दा उपयुक्त मर्ने सुविधा जनताका लागि अरू के हुन सक्छ ? सरकारले जनतालाई आफूखुशी आत्महत्या गर्न सक्ने यति धेरै सुविधाहरू दिएको छ कि विदेशीहरू हाम्रो व्यवस्था देखेर अक्क, बक्क र छक्क पर्छन् । अहिले त झन् देशैभरि चौर, ताल, जंगलहरू सपाट मैदानमा परिवर्तित भैसकेका छन् । पानी सुकेका कारण थुप्रै ढुंगेधारा, इनार, कुवा खाली खाली छन् । आत्महत्याकांक्षीका लागि नडुबीकन स्वर्ग जान पाउने यीभन्दा राम्रा अवसर अरू के हुन सक्छन् र ? हिजोआज शिक्षालयहरूमा खुलेआम खुकुरी प्रदर्शन र प्रहार सामान्य कुरा भए । सरकारले आत्महत्या गर्नेहरूका लागि अस्पतालहरू समेत खोलिदिएको छ । कोही आत्महत्या गर्न चाहन्छ भने कुनै अस्पतालतिर लागे हुन्छ । केही देशले बल्ल अस्पतालमा आत्महत्या गर्न अनुमति दिएको समाचार आएको छ । हाम्रो देशमा त उहिल्यैदेखि यस्तो सुविधा छ । अस्पतालले पहिले आत्महत्याकांक्षीको खल्ती खाली गराउँछ, अन्त्यमा आत्महत्या । भलै, गरीबहरूका लागि पनि अस्पताल बाहिरै मर्ने सुविधा पनि समावेशी सरकारले दिइराखेकै छ । यसरी सरकारले मान्छे जन्मेदेखि नै मर्नुअघिसम्म पनि अनेक प्रकारले मर्न सक्ने सुविधा प्रदान गरिरहेकै छ । जनतालाई आत्महत्या गर्न वा मर्नका लागि अझ थुप्रै तानाबानाहरू बुनिरहेका खबरहरू पनि आइरहेकै छन् । जन्मन त सजिलै छ । तर मर्न त्यति सजिलो काँहा छ र ? यस्तोमा सरकारले जनतालाई मर्नका लागि सजिलो बनाइदिने जस्तो पवित्र काम अरू के हुन सक्छ ? धन्य छ सरकार । धन्य छ सरकारको जनताप्रतिको कर्तव्यबोध ! तब न हामी भाग्यमानी नेपाली !

कास्कीको दुर्गमका विद्यार्थीले बल्ल शुद्ध खानेपानी पिउन पाए

पोखरा । कास्कीको दुर्गम माछापुच्छ्रे गाउँपालिकाे धितालमा रहेको भूमेश्वर माध्यमिक विद्यालयमा लामो समयपछि खानेपानीको सुविधा पुगेको छ । विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरु तिर्खा मेटाउन १-२ घण्टा हिड्नु पर्ने बाध्यता थियो। स्थानीयवासीन्दाको मागपछि रोटरी क्लब अफ महाराजगञ्जले विद्यालयमै शुद्ध खानेपानीको व्यवस्थापन गरीदिएपछि विद्यार्थीले शुद्ध खानेपानी पिउन पाउने भएका छन् । रोटरी क्लब महाराजगञ्जकी अध्यक्ष मञ्जु गुरुङले […]