लाभांश सुरक्षित गर्ने अन्तिम दिन प्रतिकित्ता रू. ३० ले घट्यो अरुण काबेली पावरको शेयरमूल्य

भदौ १३, काठमाडौं । अरुण काबेली पावरले प्रस्ताव गरेको १७ दशमलव ८९ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३० ले घटेको छ ।  यस दिन प्रतिकित्ता रू. ८४३ दशमलव ५० मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ७९३ दशमलव १० देखि अधिकतम रू. ८६० सम्म पुगेर अन्तिम मूल्य प्रतिकित्ता रू. ७९७ कायम भएको हो । यो दिन अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य ३ दशमलव ६३ प्रतिशतले घटेको हो । यस दिन सर्वाधिक रकम र कित्ता कारोबार गर्ने दोस्रो नम्बरमा परेको कम्पनीको रू. ८७ करोड ९ लाख २४ हजार बराबरको १० लाख ६९ हजार ६४९ कित्ता शेयर खरीदविक्री भएको हो । कम्पनीले यस वर्ष १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । लाभांशसहित शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथली , काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाले १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।  हाल कम्पनीको संचालक समितिमा ७ जना संचालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ १४ गते श्रीकृष्ण जन्माष्ठमीको विदाका कारण शेयर कारोबार नहुने भएकाले भदौ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो ।