अर्थतन्त्रका अन्योल उस्तै: सरकारी नीतिका विरोधाभासहरू

सरकारले अर्थतन्त्र सुधारको बाटोमा गइरहेको दाबी गरे पनि यसको आगामी गति के होला भन्नेमा धेरैलाई चासोमात्र होइन, चिन्ता बढी छ । अर्थतन्त्रको मुख्य सरोकारवाला निजीक्षेत्र आज निराश छ । कुनै पनि उद्यमीहरू आज आगामीप्रति आशावादीभन्दा बढी सशंकित देखिन्छन् । सरकारले सुधारको समय शुरू भइसकेको बताइरहँदा निजीक्षेत्र यसमा आश्वस्त हुन नसक्नुको अर्थ निजीक्षेत्रको मनोबल कमजोर भइरहेको छ भन्ने नै हो । निजीक्षेत्रको कमजोर मनोविज्ञान कदापि आर्थिक विकासको सवालमा सकारात्मक संकेत हुनै सक्दैन ।  सरकारले यो आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । गतवर्ष ८ प्रतिशत वृद्धिको अनुमान गरिएकामा २ दशमलव १६ प्रतिशत भएको सरकारकै दाबी छ । यो वर्ष पनि अर्थतन्त्रका अवयवहरूमा चामत्कारिक सुधारको संकेत प्रकट नभइसकेको अवस्थामा सरकारी प्रक्षेपणलाई पत्याइहाल्नुपर्ने कारण छैन । एकपटक आर्थिक दृश्यावली स्मरण गरौं, कोरोना महामारीयता विश्वकै अर्थतन्त्र सुस्त छ । उत्पादनदेखि आपूर्तिसम्म आयातको भरमा चलेको हाम्रो अर्थतन्त्रमा यसको भार अन्यको तुलनामा बढी नै हुनुपर्ने हो । विश्व अर्थतन्त्रले सामना गरेको संकट र हरेक आयाममा बढ्दो बाह्य निर्भरताका कारण हामीले अझ बढी समस्या सामना गर्नुपर्ने हो । आन्तरिक उत्पादनको हविगत यस्तो छ कि, कृषिप्रधान अर्थतन्त्र भनिएको छ तर मुख्य खाद्यान्न धान र चामल आयात भएन भने नेपालीको भान्छा चल्न कठिन हुन्छ । अहिले भारतले चामल निर्यातमा रोक लगाउनेबित्तिकै यता मूल्य बढाउने काम भइसकेको छ । यस्तोमा सुखद पक्ष यो हो कि, सबैभन्दा ठूलो व्यापार साझेदार भारतमा कोरोना महामारीको असर तुलनात्मक रूपमा न्यून देखियो । आपूर्तिदेखि मूल्यवृद्धिसमेत भारतमा निर्भर हुनुकै कारण हामी सम्भावित ठूलो आर्थिक दुर्घटनाबाट जोगिएको सत्य हो ।  निकट छिमेकी पाकिस्तानको अर्थतन्त्र दुर्घटनाको संघारमा छ । अर्को छिमेकी श्रीलंका आर्थिक संकटकै कारण अकल्पनीय दुर्घटना सामना गर्दै अहिले लय समात्ने तरखरमा छ । तर, हामी भने तुलनात्मक कमजोर भएर पनि त्यो तहको संकट झेल्न बाध्य हुनु परेन । यो सुखद संयोगमात्र कदापि होइन, भारतसँग धेरै हदसम्म हाम्रा आर्थिक उपकरणहरू आबद्ध भएकाले पनि यो सम्भव भएको हो । आपूर्ति व्यवस्थापनदेखि विदेशी विनिमयमा हामी भारतमा आबद्ध हुनुको यो सकारात्मक सहुलियत हो ।  सरकारले उत्पादन अभिवृद्धिको रणनीति नलिने, राष्ट्र बैंकले कसिलो नीति लिएर आयातमा नियन्त्रण गर्दा भारतसँग खुला सिमाना र आवागमन जोडिएको हामीकहाँ त्यसको प्रतिक्रियाको रूपमा अवैध आपूर्तिले बढावा पाउनेमा आशंका छैन । अर्थतन्त्रले सकसको सामना गर्दै नगरेको भने होइन । विप्रेषणबाट हुने आयले आपूर्तिको सन्तुलन धानिएको अवस्थामा यसको आप्रवाहमा कमी, वैश्विक आपूर्ति शृंखलामा आएको असन्तुलन र मूल्यवृद्धिका कारण विदेशी विनिमयको सञ्चितिमा परेको दबाब सामना गर्न नेपाल राष्ट्र बैंकले जुन नियन्त्रणको नीति अपनायो, त्यसले अर्थतन्त्रलाई झन् सकसमा हाल्ने काम गर्‍यो । हाम्रो समस्या भनेको आपूर्तिमा बाह्य निर्भरता त हो नै, आन्तरिक उत्पादन नहुनु यसको मूल कडी हो । यदि यसो हो भने बाह्य क्षेत्रलाई सन्तुलनमा राख्न आन्तरिक उत्पादनमा जोड दिनु नै दीर्घकालीन समाधान हो । सरकारले यसमा ध्यान दिन चाहेको छैन । सरकार स्वदेशमा उत्पादन बढाएर आयातको भार कम गर्ने होइन, आयातमा प्रतिबन्ध लगाएर सजिलो बाटो समात्न उद्यत हुन्छ ।  सरकारले उत्पादन अभिवृद्धिको रणनीति नलिने, राष्ट्र बैंकले कसिलो नीति लिएर आयातमा नियन्त्रण गर्दा भारतसँग खुला सिमाना र आवागमन जोडिएको हामीकहाँ त्यसको प्रतिक्रियाको रूपमा अवैध आपूर्तिले बढावा पाउनेमा आशंका छैन । यसो त अन्य मुलुकबाट समेत अवैध आयात नभएको भने होइन । काठमाडौंको त्रिभुवन विमानस्थल भन्सारबाट अनधिकृत रूपमा भित्रिएको सुन बारम्बार समातिनु यसको उद्घाटित प्रमाण हो । यही सत्यलाई स्वीकार गरेर सरकारले आयातलाई खुकुलो गर्दै सबै खालका प्रतिबन्ध त हटायो, बजारमा सुधारको संकेत भने देखिएको छैन । मानिसको आयस्तर घट्दा माग शिथिल भएको छ । बजारदेखि उत्पादनका आयामहरू एक चौथाइको हाराहारीमा खुम्चिएका आँकडाहरू आइरहेकै छन् । सरकार आयात नियन्त्रणबाट पछि हट्नुको कारण सरकारी ढुकुटीमा आएको कमी पनि हो । अवैध माध्यमबाट आयात भइरहने तर सरकारको राजस्वमात्र गुम्ने भएपछि सरकार त्यसबाट पछि हट्न बाध्य भएको हो भन्ने त स्पष्ट भइसकेको छ ।  विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थितिमा देखिएको बचतलाई सरकारले जसरी अर्थतन्त्रका सूचकमा सुधारको रूपमा बुझाउने काम गरिरहेको छ, त्यो सरकारले भनेजस्तै शत प्रतिशत सत्य होइन । मागमा आएको कमीले आयात घट्दा सुधार देखिएकोमात्र हो । सरकारले आयातमा सबै खालका रोकावट हटाए पनि आयात किन बढिरहेको छैन ? यसको सोझो अर्थ हो, बजारमा लगानी र माग छैन । आयात नभएपछि बाह्य क्षेत्र त सकारात्मक देखिने नै भयो । बाह्य व्यापारमा नियन्त्रणको नीति फिर्ता लिए पनि सुधार नदेखिनु भनेको अर्थतन्त्रमा संकट नटरिसकेको स्पष्ट संकेत हो भन्ने तथ्यलाई ओझेलमा पार्न नसकिएला, तर सधैंका लागि लुकाउन भने सकिँदैन । यस्तो दृश्यावलीमा यो वर्ष अर्थतन्त्रका सरोकारहरूमा सुधार आउनेमा आशंका र अन्योल अस्वाभाविक होइन । यो वर्षको बजेटले अर्थतन्त्र उकास्ने सन्दर्भमा केही गर्ला भन्ने आश थियो । तर, महत्त्वाकांक्षा, लोकप्रियता र वितरणबाहेक सुधारका आधार प्रकट भएनन् । मौद्रिक नीतिले सम्बोधन गर्ला भन्ने भयो त्यो पनि अपेक्षित आएन । घुमाईफिराई यो वर्ष पनि नियन्त्रणात्मक नीति आएको छ । हाम्रो अर्थतन्त्रको विरोधाभासपूर्ण विशेषता वा विडम्बना जे भने पनि वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल छैन, तानातान बढी देखिन्छ । अर्थतन्त्रको उन्नयनमा समन्वय र सहकार्य बलियो बनाउनुपर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धीजस्ता देखिँदा अर्थतन्त्रका सरोकारहरू अन्योलमा पर्नु स्वाभाविक हो ।  सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई भेट्टाउन लगानी विस्तारको खाँचो छ । हामीकहाँ लगानीको स्रोत भनेको निजीक्षेत्र हो । बाहिरको निजीक्षेत्र यहाँ आउन त्यति तत्पर देखिएको छैन । स्वदेशको निजीक्षेत्रको लगानीको स्रोत भनेको बैंक हो । कर्जा विस्तारको लक्ष्यलाई गतवर्षको तुलनामा घटाएर आर्थिक अभिवृद्धिको अभिलाषा कसरी पूरा होला ? ६ प्रतिशतको आर्थिक वृद्धिका लागि १५ प्रतिशतको हाराहारीमा कर्जा विस्तार हुनुपर्छ भनिएको छ । हामीकहाँ यसलाई घटाएर साढे ११ प्रतिशतमा झारिएको छ । यसको प्रभाव मूल रूपमा अर्थतन्त्रमै जोडिन जान्छ । गतवर्ष व्यापार नियन्त्रणदेखि चालू पूँजी कर्जा मार्गदर्शनमार्फत लगानीमा नियन्त्रण गरियो, ब्याजदर बढ्दा पनि माग र आपूर्ति खुम्चिएको अवस्था छ । अहिले पनि कर्जा विस्तारलाई नियन्त्रण गर्दा यसको प्रभाव अर्थतन्त्रका सबै सरोकारमा जोडिनेछ ।  सरकारको आय र खर्चका आधारले पनि अर्थतन्त्र सुधारको बाटोमा जाने सम्भावना न्यून प्रकट भइरहेको छ । राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । यो वर्ष पनि यसका सुधार आउने आधार छैन । यो अवस्थामा सरकारी राजस्वले साधारण खर्च धान्नै मुश्किल हुने छ भने विकास खर्च हुने अवस्था न्यूनमात्रै छ । यसको सोझो असर निर्माणका क्षेत्रमा जान्छ, अर्थतन्त्र शिथिल रहन्छ । उत्पादन र व्यापारमा मार्गदर्शन ल्याएर लगानी रोक्ने, अर्कातिर घरजग्गा, शेयरमा अनुत्पादक भनेर लगाम लगाउने हो भने लगानी कुन क्षेत्रमा गर्ने त ? ऋण लगानी गर्ने समयमा अन्धाधुन्ध दिने र पैसा सकिएर समस्या भएपछि अनुत्पादक भनेर घाँटी निचोर्ने नीति नै विरोधाभासपूर्ण छ । यस्तोमा यदि समस्या हो भने त्यही बेला नियन्त्रण गर्नुपर्ने हो । एकैचोटि अनेक मार्ग निर्देशनका नाममा आतंकित बनाउने कामले स्वस्थ अर्थतन्त्रलाई संकेत गरिरहेको छैन ।  ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

टेलिकमको लाइसेन्स अवधि वैशाखसम्म, स्पष्ट छैन नयाँ दिने विधि

१३ वैशाख, काठमाडौं । आगामी २८ वैशाख २०८१मा सरकारी स्वामित्वको नेपाल टेलिकमको दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स)को २५ वर्षे अवधि सकिंदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र अवधि सकिने दिन नजिकिंदै गर्दा अन्योल छ, टेलिकमले कसरी नयाँ अनुमतिपत्र पाउँछ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने अन्योल रहेको दाबीलाई स्वीकार गरिरहेको छैन र टेलिकमलाई नयाँ अनुमति […]

सुकुम्बासी व्यवस्थापनमा सरकारी निकाय नै विभाजित

काठमाडौं, कात्तिक २८। बागमती नदी किनारका अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारका दुई निकाय विभाजित हुँदा अन्योल थपिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय भूमि आयोग बागमती नदी अतिक्रमणको विषयमा विभाजित हुँदा यस्तो अवस्था आएको हो। चुनावको मुखैमा समितिले १० दिनको मिति राखेर सूचना जारी गरेपछि आयोगले यसप्रति […]

फेरि किन पक्राउ परे अपूर्व क्षितिज ?

पुन: पक्राउ गरेपछि उनी कहिले छुट्छन् भन्ने कुरा अझै अन्योल नै छ । 'अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पेस भइसके पनि अदालती काम सकिएको छैन । त्यस कारण उहाँलाई हिरासतमै राखिएको छ,' एसपी मैनाली भन्छन् ।

बन्द उद्योग सञ्चालनमा झनै अन्योल

सरकारले बन्द अवस्थामा रहेका सार्वजनिक संस्थान पुन: सञ्चालनका लागि पटकपटक घोषणा गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन । वर्तमान सरकारसहित अघिल्ला सरकारहरूले नीति तथा कार्यक्रम र बजेटमा बन्द रहेका सरकारी स्वामित्वका उद्योग पुन: सञ्चालन गर्ने योजना अघि सार्दै आएका छन् । तर, सरकारले प्राथमिकतामा राखेको कार्यक्रम नै बर्सेनि कार्यान्वयन हुन नसक्नुमा तालुकवाला मन्त्रालयहरूबीचको अधिकारसम्बन्धी […]

शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हुने भए पनि निजी शैक्षिक संस्थाहरूले भने व्यावहारिक नहुने भन्दै कार्यान्वयन असमर्थ हुने जनाएका छन् । विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पर्ने भएकाले शैक्षिक संस्था सातामा दुई दिन बिदा गर्न हुँदैन भन्ने तर्क निजी शिक्षालय सञ्चालकको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सरकारी निर्णय पा

बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, वर्गीकरणको तयारीमा विभाग

सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्‍यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ ।

कोरोना बीमा भुक्तानीमा सरकारी अकर्मण्यता

हिजो आजको ताज़ा र जटिल विषय बनेको कोरोना बीमा भुक्तानी र नयाँ बीमा रोक्ने बीमा कम्पनीहरूको निर्णयले आम बिमकहरूलाई अन्योल र दुःखित बनाएको छ। सरकारले आफ्नो दायित्व वहनमा आलटाल गरेपछि बीमा कम्पनीहरूले कोरोना दावी भुक्तानी रोकेका छन् भने पटक–पटक बीमा समितिमार्फत् दायित्व अनुसारको कोरोना बीमा दावी रकम माग गर्दा पनि सरकारले वास्ता नगरेपछि कम्पनीहरूले भुक्तानी […]

अन्योलमा हप्तामा दुई दिन बिदा दिने योजना

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल कार्यान्वयनमा नआउने देखिएको छ । तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले जोडतोडका साथ उठाएको दुई दिन बिदाको विषयको कार्यान्वयन नै अन्योल बनेको छ । कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र उकास्न प्रस्ताव गरिएको दुई दिन बिदाको विषय अन्योल बनेको हो ।दुई दिन बिदा अध्ययन गर्न बनेको समितिले नै विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले प

सरकारी निर्णयले ज्येष्ठ नागरिक भत्ता वितरणमा अन्योल

सरकारको पछिल्लो निर्णयले सामाजिक सुरक्षा भत्ता वितरणमा अन्योल सिर्जना भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक संख्या ३५/०७५ को (असोज २१ गते)को निर्णयले विद्यमानमा सञ्चालनमै रहेको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा (२) कार्यान्वयन नगर्न परिपत्र गरेपछि अन्योल भएको हो ।