स्वनाम साथीबारे प्रगतिशील लेखक संघको चालिसौँ परिसंवाद

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले वामपन्थी व्यक्तित्व स्वनाम साथी (शशि शेरचन) को बारेमा चालिसौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । “प्रगतिशील आन्दोलनमा स्वनाम साथीको भूमिका” विषयक सो परिसंवाद कार्यक्रम २०७७ माघ १६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा वामपन्थी नेता घनश्याम शर्माले स्वनाम साथीको बारेमा मन्तव्य राख्नुभएको थियो । सो अवसरमा उहाँले स्वनाम साथी जनताको मन जित्न सक्ने व्यक्तित्व भएको बताउनुभयो । ‘कसैको घरमा जानुपर्यो भने म तपाईंकहाँ आएँ, तपाईंहरूलाई अप्ठेरो त पर्दैन भनेर उहाँले सोध्नुहुन्थ्यो’ पौडेलले भन्नुभयो– ‘कसैको घर गइसकेपछि सर्वप्रथम वृद्ध तथा बालबालिकाले खाना खाए÷खाएनन् भनेर सोच्ने, खाना थप्न खोज्दा पनि मलाई पुग्यो, तपाईंहरूलाई पुग्यो कि पुगेन भनेर सोध्ने बानी उहाँको थियो ।’ आफू मात्र बोल्नेभन्दा पनि अरूको धेरै कुरा सुन्ने बानी उहाँको भएको पनि पौडेलले बताउनुभयो । ‘स्वनाम साथी कम्युुनिस्ट पार्टीको झण्डालाई कुनै पार्टीविशेषको भन्दा पनि श्रमजीवी वर्गको सम्पत्ति भएको उहाँको भनाइ थियो’ पौडेलले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको झण्डा कुनै दलले छाप लगाएर दिने चिज होइन ।’ मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीले साम्यवाद सुदूर भविष्यको विषय नभएको धारणा राख्ने व्यक्ति बताउनुभयो । ‘भित्रै मनदेखि समानताको अवधारणा आउने हो भने साम्यवाद कुनै पनि बेला जहाँ पनि उपभोग गर्न सकिन्छ’ पौडेलले स्वनाम साथीको विचार कार्यक्रममा राख्नुभयो । कम्युनिस्ट आन्दोलनमा लाग्दा स्वनाम साथी शारीरिक रूपमा धेरै नै कमजोर रहेको जानकारी दिँदै त्यसको विकल्पमा उहाँले योग र ध्यानलाई विशेष महत्त्व दिएको पौडेलले बताउनुभयो । योग र ध्यानबारे स्वनाम साथीको अवधारणाको सारसङ्क्षेप खिच्दै पौडेलले भन्नुभयो– ‘योग र ध्यान पूर्वीय दर्शनको विशिष्ट योगदान हो ।’ मन्तव्यको क्रममा पौडेलले स्वनाम साथीलाई नेपाली कम्युनिस्ट आन्दोलनको महान् पात्र भएको दावी गर्नुभयो । स्वनाम साथी अथाह ज्ञानभण्डारको खानी भएको बताउँदै पौडेलले उहाँको योगदानबाट नेपाली वामपन्थी आन्दोलनले धेरै कुरा सिक्न सक्ने पनि बताउनुभयो । कार्यक्रममा डा. सावित्री श्रेष्ठ, गोपीरमण उपाध्याय र बलदेव भट्टले समेत पूरक विचार राख्नुभएको थियो ।