तथ्यांकोवाच : रू. ७ अर्ब ५ करोडको स्याउ आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. ७ अर्ब ५ करोड बराबरको स्याउ आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा यस अवधिमा स्याउ आयातको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशत रहेको देखिन्छ । कृषि श्रमिकको कमी, स्याउ खेतीयोग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकहरूको स्याउ उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम स्याउ उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै स्याउमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले स्याउखेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

साउनमा मात्रै ६९ करोडको स्याउ आयात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँ बराबरको स्याउ भित्रिएको छ । साउनमा ९२ लाख १० हजार ८९९ किलो स्याउ भित्रिएको भन्सार विभागले जनाएकाे छ । चीन, भारतलगायत विभिन्न मुलुकबाट नेपालमा बर्सेनि ७ अर्ब बराबरको स्याउ भित्रिने गरेको छ । गत आर्थिक वर्ष ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँकाे स्याउ आयात गरिएकाे विभागले जनाएको छ ।