‘पैसा भए पनि सामान नपाउने अवस्था आउन सक्छ’

विराटनगर-उद्योगी–व्यापारीहरूको नेपालकै सबैभन्दा जेठो साझा संस्था मोरङ व्यापार संघले महँगी नियन्त्रणका लागि १० बुँदे सुझाव प्रस्तुत गरेको छ । हाल आन्तरिक र बाह्य कारणले अत्यधिक महँगी बढेको संघको निष्कर्ष छ ।बैंकको उच्च ब्याजदर, तरलता अभाव र रुस–युक्रेनबीचको युद्धलाई संघले महँगी बढ्नुको मुख्य कारण मानेको छ । सरकारले तत्कालै उचित कदम नचाले अझै महँगी बढ्ने संघको […]

सम्बन्धित सामग्री

बजारमा उपभोग्य वस्तुको अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो । शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् । नेपाल चाइना व्यापार संघका महासचिव मुकुन्द पौडेलका अनुसार टीटी सिस्टमबाट व्यापारीहरूले सोझै विदेशी उत्पादनकर्ता कम्पनीसँग सामानको अर्डर गरी केही रकम बैंकिङ सिस्टमबाट अग्रिम भुक्तान गरी यस्तो सामान मगाउन सकिन्थ्यो । बाँकी रकम सामान प्राप्त भएपछि दिने चलन थियो । तर, अहिले एलसी खोल्दा नै बैंकलाई शतप्रतिशत भुक्तानी बुझाउनुपर्ने भएकाले सामान आयातमा समस्या भएको छ । ‘एकजना आयातकर्ता ब्यापारीले १ करोड रुपैयाँको सामान आयात गर्दा थप १ करोड रुपैयाँ बैंकमा बुझाउनुपर्ने समस्याले व्यापारीहरूसँग रकम अभाव भएको छ । अधिकांश व्यापारीले नगद अभावका कारण सामान आयात गर्न नसक्दा बजारमा सामान अभाव हुन थालेको हो,’ उनले आर्थिक अभियान दैनिकसँग भने । सामान आयातका क्रममा एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बजारको अवस्था खस्किएको बताइएको छ । अहिले यस व्यवस्थाका कारण नेपाल स्वनिर्भर भएका वस्तुको हकमा समस्या नभए पनि परनिर्भर हुनुपर्ने हजारौं किसिमका वस्तुको आयातमा समस्या भएको छ । यसले गर्दा उपभोक्ताले बजारमा आफूले खोजेको सामान नपाउने अवस्था देखिएको छ । नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले बजारको चक्र नै टुटेको बताए । उनका अनुसार २ करोडको सामान आयात गर्ने व्यापारीले अहिले २५ लाखको मात्रै सामान आयात गर्नसक्ने अवस्था छ । ‘पहिलो कुरा त सामान आयातमै यसको प्रभाव पर्‍यो, आयात प्रभावित भएपछि बजारमा सामानको अभाव हुनगई उपभोक्ताले आफूले खोजेको सामान पाउँदैनन् र बजारमा ब्यापार हुँदैन । ब्यापार नभएपछि पसलेसँग पैसा हुँदैन र उसले आपूर्तिकर्ता तथा आयातकर्तालाई भुक्तानी पठाउन समस्या हुन्छ । यसरी बजारको चक्र अस्तव्यस्त अवस्थामा पुगेको छ,’ उनले भने ।