नवराज पौडेल/तौलिहवा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले मघ ७ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ र वडा नं. ४ मा कोणसभा सम्पन्न भएको राजमो कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं. ११ को थुनियागाउँमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । प्रतिनिधि सभाको पुनःस्थापना एक मात्र विकल्प रहेको बताउँदै उहाँले सङ्घीय व्यवस्थाले गर्दा करवृद्धि, महङ्गी, विखण्डन निम्ताएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, शिवराज नगरपालिका वडा नं. ४ को वसन्तपुर चोकमा भएको कोणसभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले सम्बोधन गर्दै प्रचण्ड, केपीको आन्तरिक लडाइले देश अधिनायकवादतर्फ जान लागेकाले राजावादीहरूले गुमेको सत्ता फिर्ता लिन जोडबल गरेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो ।
सो अवसरमा दुवै ठाउँमा पर्चा वितरण, जनभेटघाट पनि गरिएको थियो ।