जलजलामा फस्टाउँदै ठेकी फल

म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किबी खेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन ।      ‘किबी लगाएपछि जंगली जनावरले पनि दुःख दिएका छैनन्’, तिलिजाले भनिन्, ‘कोदो, मकै लगाउँदा भन्दा आम्दानी पनि राम्रो भएको छ । कोदो लगाउँदा वर्षमा दुई क्विन्टल उत्पादन हुन्थ्योे । किबीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन् ।’      गत वर्ष प्रतिकिलो २५० रुपैयाँका दरले ५०० किलोग्राम किबी बेचेको तिलिजाले बताइन् । यसपालि गत वर्षभन्दा बढी किबी फलेको उनले सुनाइन् ।      चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किबीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्रामभन्दा बढी उत्पादन गरे । मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किबीबाट ७५ हजार कमाइ भएको पुर्जा बताउँछन् ।       ‘अरूले प्रतिकिलो ३०० रुपैयाँभन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौं’, पुर्जाले भने, ‘अन्नबालीको भन्दा किबीबाट धेरै बढी आम्दानी भयो ।’ अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । म्याग्दीको राम्चे, बरञ्जा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेती विस्तार भएको छ । ३२ वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किबी भित्र्याएका थिए ।      स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थकर मानिने किबीको बजारमा माग र खपत बढेको छ । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेती गर्न सकिन्छ ।      ‘भिटामिन सीलगायत पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ’, उनले भने, ‘राम्रो भयो भने एकै रोपनीमा ४ लाखसम्म आम्दानी गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।’ अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलका रूपमा चिन्ने गरिएको छ । न्युजिल्यान्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा १०० रुपैयाँ छ । निजी नर्सरीबाट ३०० सम्ममा बिक्री हुन्छ । कृषि ज्ञान केन्द्रले गत वर्ष नमुना फार्म कार्यक्रममार्फत एउटा किबीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो । यो वर्ष चार वटा किबी फार्म स्थापनाका लागि आवेदन परेको छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए ।       प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटासम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौती हो । रासस       

सम्बन्धित सामग्री

नायब सुब्बा छोडेर किबीखेतीमा लागेका खतिवडा भन्छन्– यो त डलर र पाउन्डको खेती हो

मानिसहरूले त्यसबेला जानेर वा नजानेर किबीलाई ठेकी फल भनेर हेला गर्थे । बजारमा किबी माग भइसक्दा पनि त्यस क्षेत्रका मानिसलाई किबीमा विश्वास थिएन । अन्ततः तारामणि खतिवडाले किबीलाई इलामको ब्रान्ड बनाएरै छाडे ।

आयआर्जनका लागि किवी खेती

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालमा ठेकी फलको रूपमा चिनिन्छ । आज विश्वका धेरै देशमा उक्त फलको खेती गर्न थालिए पनि यो छिमेकी राष्ट्र चीनमा धेरै वर्षअघि विकास भएको मानिन्छ ।समुद्र सतहबाट १५ सयदेखि २ हजार मिटरसम्मको उचाइमा किवी खेती गर्न सकिन्छ । बिरुवा रोपेको तेस्रो वर्षदेखि यसको बोटमा प्रशस्त फल फल्न थाल्छन् । […]

उपमेयर दम्पतीको किबी खेती मोह

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किबी खेती सुरु गरेको ठ्याक्कै ७ वर्ष पुग्यो । उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा यसको खेती सुरु गरेका हुन् । किबी खेती सुरु गरेपछि आम्दानीभन्दा पनि उत्पादन कसरी बढाउने भन्ने चिन्तामा रहन्थे, उनी । इलामबाट २ सय किबीका बिरुवा ल्याएर मकै, कोदो लगाइरहेको जमिनमा उनले किबी खेती सुरु गरेका थिए । नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएका कारणले लगानी माटोमै खेर जान्छ कि, राम्रो आम्दानी हुन्छ भन्ने ठेगान नभएको उनको भनाइ छ । पोख्रेलकी श्रीमती तिला पोख्रेल लालीगुराँस नगरपालिका उपप्रमुख हुन् । श्रीमान्ले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकको सेवामै व्यस्त हुँदै आएकी उनी फुर्सदको समय बगानमा श्रीमान्लाई सघाउँछिन् । परम्परागतभन्दा नयाँ खेती सुरु गरेका दम्पतीलाई नगदेबालीमा बढी आम्दानी लिन सकिन्छ भन्ने ढुक्क छ । ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको पनि भने ?’ देवीले भने, ‘हौसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर, म निरन्तर आफूले गरेको खेतीमा लागिरहेँ । जब किबीबाट आम्दानी दिन सुरु भयो, अहिले मेरो खेती देखेर लोभिन्छन् ।’ ०७१ सालमा खेती सुरु गरेका पोखरेल दम्पतीले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनीहरु आफ्नो खेतीबाट दंग छन् । देवी थप्छन्, ‘खेती सुरु गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो । चार वर्षमा बजारमा पुर्‍याउन सफल भइयो । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहक मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोचमा छौं । अन्नबाली लगाउँदा बढीमा आठ/दस हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।’ देवीले अहिले जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचय बनाइसकेका छन् ।  बगानबाट वार्षिक दुई हजार किलोग्राम किबी उत्पादन हुँदै आएको छ । व्यावसायिक रूपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्ताव लगे पनि कुनै सहयोग नपाएको गुनासो गरे । पोखरेल किबी किसान मात्र नभई प्रशिक्षकको रूपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसान उनको बगान आउने गरेका छन् । खेतीसँगै नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री सुरु गरेका छन् । उनले रेड र ग्रीन जातका किबी खेती गर्दै आएका छन् । सुरुमा एक्लै खेती गरेका पोखरेलको सिको गरेर अहिले गाउँमा धेरैजसो किसानले किबी खेती थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानी काठमाडौंलगायत पूर्वका विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ ।  उत्पादित किबी प्रतिकिलो १ सयदेखि ३ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई छाड्दै किसान नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किबी । जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किबी’ चराले चीन, नेपाल र न्युजिल्यान्ड पुर्‍याएको मानिन्छ । किबीको सबैभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्यान्डमै रहेको बताइन्छ । न्युजिल्यान्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब डलरको किबी आयात हुने गरेको तथ्यांक छ । किबी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर, कतिपयले किबीलाई जापानी रैथाने फल भन्ने गरेका छन् । चीनको याङत्जे उपत्यका किबीको पितृभूमि रहेको विश्वास छ । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड बिरुवा हो । नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किबी हो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती सुरु भएको र सन् १९७४ देखि किबीले अन्तर्राष्ट्रिय पहिचान पाएको बताइन्छ । उपयोग तथा औषधीय गुण फलको राजा किबीलाई यार्सा र ग्यानोडार्मा च्याउजत्तिकै औषधीय गुणयुक्त मानिन्छ । किबीलाई शक्तिवर्द्धक र क्यान्सरको औषधी बनाउन प्रयोग गरिन्छ । किबीबाट रक्सी, ब्रान्डी, वाइन, जेली, वियर, जुस, जाम, कस्मेटिक सामग्री आदि बनाउन सकिन्छ ।