स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित  :  निर्वाचन आयोग

जेठ १२, काठमाडौं ।  स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ जना महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९  जना महिला उम्मेदवार रहेका थिए । कुल ७५३ स्थानीय तहमा ३५ हजार २२१ ओटा पद रहेका छन् ।             निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीवार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन ओटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए।             दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी छन् । दुवै जनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।             कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।            प्रदेशगत आधारमा निर्वाचित महिला             प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकामा २ हजार ४५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा २ हजार ७७० जना निर्वाचित भए ।। सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकामा २ हजार ३४७ जना निर्वाचित भए।             गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकामा २ हजार १२४ जना निर्वाचित हुन सफल भए।             आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकामा १ हजार ५२४ जना निर्वाचित  भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकामा १ हजार ५६० जना निर्वाचित भए ।            प्रमुख पदमा महिला             देशभरबाट २५ ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।          मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।             सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्।             त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।             सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हभइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएकी छन् ।             नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।             त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।             दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् ।             आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।             काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । रासस