ट्रेकिङ जाँदा नगरौँ फोहोर

- मानिस ट्रेकिङ जाँदा रमाउँछन् । तर, मनोरञ्जनसँगै जिम्मेवार हुन पनि जरुरी छ । विशेषगरी आफू घुमेको ठाउँको सुन्दरता बिग्रन नदिन सचेत रहनुपर्छ । ट्रेकिङ जाँदा जथाभावी फोहोर फाल्नुहुँदैन । यसले प्रकृतिमा असर गर्छ ।...

सम्बन्धित सामग्री

आउनोस् देश विघटनमा लागौं

पृथ्वीनारायण शाहले नेपालको भूगोल जोडे । भानुभक्तले भाषामार्फत नेपाली भावना जोडे । हाम्रा पुर्खाले विभिन्न जातजाति, धर्म, संस्कृति जोडेर नेपाली माला बनाए । तर, पहिले गला जोड्ने नेपाली अहिले एकअर्काको गाला फोड्न थालेका छन् । सियो बनेर पसेको विदेशी विकृति मियोे बनेर निस्कियो । हिजोको नेपाल दिउँसै दियो बालेर खोज्नुपर्ने भयो । देश जोड्ने खेलो होइन, विघटन गराउने मेलो चलिरहेको छ । छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन । देश भावना र विश्वासले बन्छ भन्छन् । नेताहरू विभिन्न जातजातिलाई उचालेर, उक्स्याएर त्यही भावना र विश्वास तोड्ने विष घोलिरहेछन् । दुनियाँलाई तमाशा देखाइरहेछन्, देशलाई विघटनको बाटोमा कुदाइरहेछन् । भाषणमा राष्ट्रवादी, व्यवहारमा लेन्डुपवादी । नपत्याए १ नं प्रदेशको नाममा भएको विवाद नै हेर्नुस् न । प्रदेशको नाम कोशी राख्नुस् कि सुनकोशी जनतालाई त्यसको बालै भएन । तर, आफै नाम राख्ने, फेरि त्यसकै विरोधमा आफै सडक तताउने यो त चालै भएन । किताबको कम्युनिज्मले बाँडेर खाऊ, सित्तैमा नखाऊ, आफ्नो नाममा सम्पत्ति नराख भन्छ । तर यहाँ त सात पुस्तालाई पुग्नेगरी कमाउने, आफ्ना कार्यकर्तालाई मनलाग्दी सरकारी जग्गाजमीन कब्जा गर्न लगाउने । भूमि आयोगमा आफ्ना कार्यकर्ता भर्ती गरेर तिनलाई लालपुर्जा वितरण गर्ने काममा क्रान्तिकारी लाग्या छन् । यिनले महँगो खाली ठाम देख्नै हुन्न । पैसो झर्ने ठाम भेट्नै हुन्न, खुरुक्क आफ्नो पारिहाल्छन् । राजपाट होस् वा देवघाटमा, बालुवा खानी होस् कि चुनखानी सरकार दानी बनेर आफन्तको पोल्टामा पार्दिहाल्छ । कस्तो सर्वहारी, कस्तो कम्युनिज्म हो यो ? नेतालाई देश नचाहिने रहेछ, सत्ता र भत्ता भए पुग्ने रहेछ । त्यसैले विद्यार्थीदेखि शिक्षकसम्म, पत्रकारदेखि कर्मचारीसम्म सबैलाई दलहरूले आआफ्ना दलका दले बनाइदिएका छन् । दले र खलेको धर्म हुन्न । खल्ती भर्नेबाहेक यिनको केही मर्म हुन्न । जिम्मेवारी त एकादेशको कथा । एमाले, समाजवादी, कांग्रेस, माओवादी वा कुनै वादी भएपछि न देश चाहिने रहेछ, न कानून र समाज नै । राजनीति तिनका लागि झेल रहेछ । सबै शक्ति लगाएर चुनाव जितेपछि देशको टुक्रा टुक्राले खल्ती भर्ने खेल रहेछ । त्यसैले एकताको नाममा घृणा र विद्वेष रोपिएको छ । देश छैन, जमातमा छन्, जनता भीडको प्रमादमा छन् । हुँदा हुँदा विदेशमा समेत दल, जाति वा सम्प्रदायका आधारमा बाँडिएका छन्, भाँडिएका छन् । एनआरएनको एउटा साधारण सदस्य बन्न विदेशमा समेत मुक्कामुक्की र लात्तालात्ती गरेर नेपाली पहिचान फैलाउन लागिरहेछन् । पुलिस, सेना, अदालत सबैतिर उही पारा छ । अब देशको रक्षा गर्न पशुपतिनाथले पनि नसक्ने परिस्थिति बनाइएको छ । उखुको पैसा उठाउन किसान काठमाडौंमा, मिटरब्याजीको फन्दाबाट उम्काइद्यौ भन्ने मिशन काठमाडौंमा, विदेश जाने मेलो मिलाउन देशभरिका युवा काठमाडौमा । सबै केन्द्रमै धाउने अनि मुख्यमन्त्रीको चाहिँ वक्तव्य मात्र आउने । यो कस्तो संघीयता बनाको हो ? काम गर्ने उमेरमा युवा पुस्तैनी जमीन बेचेर पढ्न सके युरोप, अमेरिका नसके खाडी भासिन्छन् । कोही उतैका तेस्रो दर्जाका नागरिक बन्छन् । कतिको ज्यान उतै जान्छ, कतिको कफिनमा फर्कन्छ । बाउआमा तेल भिसामा विदेश पुग्न पाए दंग पर्छन् । शरीर गलेपछि मन मरेपछि नेपाल फर्कन्छन् । केही अपवादलाई छाडेर प्रत्येक सरकारी कर्मचारी, नेताका छोराछोरी उतै विदेशमा छन् । अनि भन्नुस् त यता देश कसलाई चाहिएको छ ? सरकारको पारा उस्तै छ । आम्दानी अठन्नी खर्च रुपैयाँ । निचोरी निचोरी कर असुल्ने, त्यही करले तलबभत्ता हसुर्ने । मेवा र सेवा जति आफूलाई, जनताका भागमा सास्ती मात्रै । अनि देश चाहिँ आफ्नो पुर्ख्यौली सम्पत्ति ठानेर गर्ने मस्ती । छ्याकन कति आउँछ भन्ने दर निर्धारण गरिसकेपछि अध्ययन योजना बन्छ । अनि उता बजेट जान्छ, बल्ल यता अध्ययन शुरू हुन्छ । विकासको न भिजन छ न मिसन । छ त केवल कमिसन । ट्रेकिङ रूट मासी कच्ची मोटरबाटो बनाउने, धुँवाधुलो खुवाएर पर्यटक तर्साउने, अनि पर्यटन विकासको ठूला कुरा गर्ने । गाउँमा प्याकेट फुड, कोला र मदिरा पुर्‍याउने र श्रमिकहरूले पठाएको डलरजति सबै रित्याउने । जनता पो के कम । वर्ष दिनभरि गाली गर्ने अनि चुनावको दिन तिनै नेतालाई चुन्ने । नेता देख्नासाथ देउतै ठान्ने । घरभित्रको फोहोर लगेर बाटोमा फ्याँक्ने अनि सरकारले सफा गरेर भनी भुक्ने । सार्वजनिक ठाउँमा चुरोट फुक्ने, पान खाएर थुक्ने, जथाभावी हर्न बजाउने, पैसा कमाउन जे पनि गर्ने । अनि यो देश बन्दैन भन्ने । यस्ताले के गर्ने ? त्यसो त उद्योगी व्यवसायीहरूको संघसंस्था पनि कम छैनन् देशमा अराजकता निम्त्याउन । त्यहाँ सदस्य बन्नकै लागि लाखौं र अध्यक्ष, उपाध्यक्ष बन्नका लागि करोडौं खर्च गर्नु सामान्य बनेको छ । एकातिर प्रतिस्पर्धा भन्छन् अर्कातिर सिन्डिकेटको जालो बुन्छन् । अर्थतन्त्र डामाडोल छ । ब्याजदरमा बढी नै मोलतोल छ । को बैंकर को व्यवसायी छुट्ट्याउन गारो । मर्का भने सबै मध्यमवर्गलाई पो पार्‍यो । एउटा कथाले अहिलेको परिस्थितिलाई अझ स्पष्ट पार्छ । एकपटक गाउँमा एकजना मानिस बिहानैदेखि गम्भीर बिरामी परेछन् । चारैतिरबाट गाउँलेहरू जम्मा भएछन् र छलफल शुरू गरेछन् कि बिरामीलाई उपचार गराउन कसरी लैजाने भनेर । एक जनाले भनेछ– डोकोमा राखेर लानुपर्छ । अर्कोले भनेछ– हैन, खट बाँधौं । तर खट बाँध्न डोरी सुतरीको ठीक कि प्लाष्टिकको, खट बाँसको ठीक कि काठको ? चार जना ककसले, कहाँसम्म र अरूले कहाँसम्म लाने ? सबैले तर्क तान्न र विवाद झिक्न लागेछन् । जम्मा १ किलोमिटरको दूरीमा रहेको अस्पतालमा बिरामी लाने कुराको विवादले बिरामी मरेछन् । हो, अहिले नेपालको हालत ठीक त्यै बिरामीको जस्तो छ । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर तीन महीनादेखि सरकारले कुरा गरेको गर्‍यै छ, केही काम गरिरहेको छैन । सत्ताको फेर समाउन दिन दिन छलफल हुन्छ । कसरी आफ्नालाई मालदार मन्त्रालय र असुली अड्डामा पुर्‍याउने भनेर जालझेल हुन्छ । तर देश सिद्धिन लागेकोमा एक रति चासो र चिन्ता छैन । सत्ता टिकाउन नेताहरू विदेशी पाउमा नेपालै चढाउन तयार देखिन्छन् । एकातिर आठ ठाउँमा जीउ भाँचेर हजुर भन्छन् अनि जनतासँग गएर तिनैविरुद्ध औंलो ठड्याउँछन् । देश चलाउने मियो बनेका नेता, मन्त्री, सरकारी कर्मचारी, हुनेखाने र केही ‘हैसियत’ भएकाहरूको एउटै उद्देश्य देश कसरी लुट्ने, कसरी विदेशमा सेटल हुने वा छोराछोरीलाई सेटल गराउने भन्नेमा सीमित छ । यो देशप्रति कसैलाई माया छैन भने किन सबै मिलेर यो देशलाई नै विघटन नगर्ने ? बरु संसद्बाटै सबै सांसदहरूले देश विघटन गरेर आफूहरू पनि विदेशैतिर लाग्ने चाँजोपाँजो मिलाउन ढिला भएन र भन्या ? बरु आउनोस्, हामी सबै मिलेर महान् नेताहरूको प्रयासलाई सफल बनाउन देश विघटन गर्नतिर लागौं, हुन्न ?

ट्रेकिङ रुटमा फोहोरै फोहोर

२९ कात्तिक, पोखरा । पर्यटन व्यवसायी मोहन भण्डारी केही दिनअघि डेनमार्कका पाहुना लिएर अस्ट्रेलियन बेस क्याम्प हुँदै धम्पुस झर्दै थिए । उज्यालो खुलेको हिमशृंखलासँगै नेपाली मौलिकता अनुभव गर्न आएका ती पाहुना टोली बीचैमा नाक खुम्च्याउन …

हेलामा पर्वतीय पर्यटन

देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, विश्वका ८ हजार मीटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश नेपालमै रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि यहीँ रहेकाले पर्वतीय पर्यटन (माउन्टेन टुरिजम) का लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यको रूपमा परिचित छ । प्रकृतिले दिएको यो अद्भुत वरदानको मज्जा लिन हिमाल, पहाड छिचोल्न विश्वभरिबाट वर्षेनि लाखौंको संख्यामा आउने पदयात्री र आरोही पर्यटक र यो क्षेत्रलाई आप्mनो पिठिउँमा बोकेर थेग्ने व्यवसायी र पेशाकर्मीहरूलाई अर्थात् समग्र पर्वतीय पर्यटनलाई राज्यले भने सधैं बेवास्ता गर्ने गरेको छ । राज्यले पर्वतीय पर्यटन क्षेत्रलाई कसरी बेवास्ता गर्दै आएको छ भन्ने दृष्टान्त हरेक वर्ष प्रस्तुत गर्ने बजेट वक्तव्यलाई हेरे पुग्छ । घण्टौं लामो बजेट भाषणमा पर्वतीय पर्यटनसँग सम्बद्ध ट्रेकिङ पदमार्ग, पर्वतारोहण, आरोही, पथप्रदर्शक, पर्वतीय पर्यटन व्यवसायी जस्ता शब्दावली सुन्न दुर्लभ हुन्छ । यसो हुनु वास्तवमै दुःखद पक्ष हो । पछिल्ला बजेट तथा कार्यक्रमहरूमा महामारीबाट सबैभन्दा बढी पीडित यस क्षेत्रका आश्रितहरूलाई राहत वा सहुलियतको कुनै कार्यक्रम नल्याउनुले पनि पर्वतीय पर्यटनप्रति राज्यको बेवास्ता थप प्रमाणित गर्छ । देशको पर्यटन नीति निर्माणको तहमा रहेकाहरूबाट पर्वतीय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई कतिसम्म हेयको दृष्टिले हेरिन्छ भन्ने एक उदाहरण महामारीकै बीच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बीबीसी नेपाली सेवामा दिएको एक अन्तरवार्तामा पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीहरूलाई सम्बोधन गर्न गरेको शब्द चयनले पनि इंगित गर्छ । गतवर्ष अगस्त २८ मा बीबीसीको नेपाली सेवामा प्रसारित उक्त अन्तरवार्ताका क्रममा उनले पर्वतीय पर्यटन पेशाकर्मी (ट्रेकिङ तथा पर्वतारोहण व्यवसायी) लाई अपमानजनक शब्द प्रयोग गरेका थिए । राज्यलाई रोजगारी वा करको माध्यमबाट टेवा नदिने (पर्वतीय पर्यटनकर्मी) लाई महामारी पीडित नै भए पनि राहत र सहुलियत दिन सजिलो नभएको उनको भनाइको सार थियो । पर्वतीय पर्यटन क्षेत्रमा आबद्धहरूले विरोध गरेपछि आफ्नो आशय कसैलाई चित्त दुखाउनु नरहेको भनाइ सार्वजनिक गरे पनि उनी र उनी जस्तै पर्यटनक्षेत्रका नीति निर्माण तहमा रहेकाहरूले यस क्षेत्रलाई सही पहिचान गर्न नसकेको विडम्बना कायमै छ । पर्यटनको अथाह सम्भावना बोकेको नेपालमा यस क्षेत्रलाई मिहीन ढंगले बुझेर नीति निर्माण र कार्यक्रमहरू लागू गर्ने हो भने थोरै समय र खर्चमा धेरै गर्न सकिन्छ । पर्यटनअन्तर्गत पनि पर्वतीय पर्यटन अर्थात् ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकहरूले पुर्‍याउने योगदान अन्य पर्यटकको भन्दा विशेष हुने गर्छ । महामारीअघि सन् २०१९ को पर्यटन तथ्याङ्कले कुल पर्यटकको करीब १६ प्रतिशत अर्थात् करीब २ लाख पर्यटक पदयात्रा (ट्रेकिङ) का लागि नेपाल आउने गरेको देखाएको छ । उनीहरूमध्येबाट केही हजार पर्वतारोहणका लागि जाने गर्छन् । पदयात्रा तथा आरोहणका लागि नेपाल आउने पर्यटकको बसाइ अवधि कम्तीमा २ हप्तादेखि २ महीनासम्म हुने गर्छ । उनीहरूको बसाइ अवधि अन्य पर्यटकको भन्दा लामो र दुर्गम ठाँउहरूमा जाने हुँदा उनीहरूले गर्ने खर्च पनि औसतमा बढी हुन्छ । महामारीकै बीच गत वसन्तऋतुमा सगरमाथा आरोहणका लागि आएका करीब ४ सय पर्यटकबाट मात्रै राज्यले झन्डै ६० करोड कर बुझेको तथ्याङ्क रहेको छ । उनीहरूले पर्वतारोहणको क्रममा चलायमान बनाएको आर्थिक गतिविधि झन्डै ३ अर्ब बराबर रहेको अनुमान छ । आरोहण नगरी ट्रेकिङ मात्र जाने पर्यटकमध्ये पनि जो नेपाली एजेन्सीमार्फत गाइड तथा अन्य कामदार लिएर जान्छन् । उनीहरूको पनि बसाइ अवधि, रोजगार सृजना र आर्थिक योगदान उल्लेख्य हुने गर्छ । हाल पर्वतीय पर्यटन क्षेत्रमा करीब २ हजार एजेन्सी, १२ हजार गाइड तथा ३० हजार जति अन्य कामदार संलग्न रहेको अनुमान छ । यसबाट पछिल्लो पर्यटन तथ्याङ्कअनुसार नेपालको समग्र पर्यटकको औसत बसाइ अवधि १३ दिन र उनीहरूको प्रतिदिन खर्च ४५ अमेरिकी डलरलाई अझ बढाएर पर्यटन क्षेत्रबाट राज्यलाई पुर्‍याउने आर्थिक योगदानका लागि सरकारले पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने नीति नियम र कार्यक्रमहरू ल्याउनु जरुरी हुन्छ । त्यसो गर्नु भनेको पर्वतीय पर्यटनसँग सम्बद्ध क्षेत्रलाई राज्यले सम्बोधन गर्नु हो जुन भइरहेको छैन । राज्यका तर्फबाट पर्यटनसम्बन्धी गर्नुपर्ने कामका सिलसिलामा पर्यटनलाई व्यापक अर्थ बुझाउने शब्द मात्र नलिई पर्वतीय पर्यटन, संस्कृति तथा आध्यात्मिक पर्यटन, मनोरञ्जन पर्यटन आदि पर्यटनका विधाहरू छुट्ट्याई तीमध्ये पनि अधिक सम्भावना बोकेको पर्वतीय पर्यटनलाई विशेष महत्व दिनु र अझ देशको पर्यटन ब्रान्ड नै पर्वतीय पर्यटन अर्थात् माउन्टेन टुरिजम घोषणा गर्नु जरुरी छ । हिमाल आरोहणमा आरोहीका साथ जाने सरकारी अधिकृतको कामको औचित्य, फोहोर व्यवस्थापनको उचित नीति, हिमाली क्षेत्रमा मोटरबाटो र आधुनिक विकास निर्माणको काम गर्दा प्राकृतिक वातावरण कायम राख्नु र प्रचलित ट्रेकिङ रूट संरक्षित गर्नुजस्ता सानातिना काम मात्रै गरे पनि पर्वतीय पर्यटनलाई जीवित राख्न ठूलो टेवा पुग्छ । तर, व्यवस्थित कार्ययोजनाको अभावमा त्यस्ता निर्माणहरू गर्नाले विश्वको नं. १ मा गनिएको अन्नपूर्ण सर्किट पदमार्ग ध्वस्त हुन पुगेको मात्र छैन, जथाभावी खनिएको मोटरबाटोले विनाश पनि उत्तिकै ल्याएको झल्को चालू वर्षायाममै मेलम्चीसँगै अन्नपूर्ण पदमार्गको मनाङमा बाढीले धनजनमा पुर्‍याएको क्षतिले दिएको छ । मुलुकमा पछिल्लो समय गठित नयाँ सरकारमा यो वर्षको विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको पूर्वसन्ध्यासम्म पनि पर्यटनमन्त्री नियुक्त भइसकेको छैन । नयाँ पर्यटन मन्त्रीले देशको पर्यटनको विभिन्न विधाको सही निक्र्योल गरी सोहीअनुसार नीतिनिर्माण तथा कार्ययोजनाहरू अघि बढाए घट्दो महामारीसँगै पुनर्जागृत हुने पर्यटन क्षेत्रमा आशाको सञ्चार हुनेछ । लेखक विगत २० वर्षदेखि ट्रेकिङ व्यवसायमा संलग्न छन् ।

सगरमाथा सफाइ अभियान टोली आधार शिविर प्रस्थान, छिट्टै काम थाल्ने

सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने नेपाली सेनाले सो सफाइको जिम्मा पिक प्रमोसन ट्रेकिङ एजेन्सीका प्रवन्ध निर्देशक बाबु शेर्पाले बताउनुभयो । सरकारले यस वर्ष ६९ जना माउन्टेन गाइडको सहयोगबाट छ वटा हिमालको फोहोर संकलन गर्ने भएको छ । आउने बैसाख र जेठको आरोहण सिजनमा पारेर नेपाली सेनाले सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, आमादव्लम र धौलागिरी हिमालबाट ३५ टन फोहोर संकलन गर्ने जनाएको छ ।