म्यान्मारमा सेनाको गोलीबाट छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार मध्य–म्यान्मारको सहरमा चार व्यक्तिको गोली लागेर मृत्यु भएको छ । देशको दोस्रो ठुलो सहर मन्डालेमा पनि दुई व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ । एक चिकित्सकले नाम नबताउने सर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान सहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्याँस, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।म्यान्मारको सबैभन्दा ठुलो सहर याङ्गुनमा बुधबार पनि प्रदर्शन जारी छन् । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकार र नागरिक समाजका व्यक्तिलाई पनि धरपकड गरेको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङसान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो । म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।(रासस–एएफपी)