छथर जोरपाटी गाउँपालिकामा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटमा विवाद

असार ७, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ नं. वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । यस आर्थिक वर्षमा संघीय संसदमार्फत उपलब्ध हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ वडा कार्यालयले अर्को वडामा दिएको विरोधमा तालाबन्दी गरिएको स्थानीय चित्रदेवी थापाले बताइन् ।  सो बजेट छथर जोरपाटी गाउँपालिकाकै मेरुदण्डको रुपमा त्रिवेणी धामसम्म पुग्ने सडकका लागि विनियोजन भएपनि वडा कार्यालयले निहीत स्वार्थ कमिसन चलखेल र विकास विरोधी घातक काम गरेको अर्का स्थानीय ठगेन्द्र प्रसाद पराजुलीको भनाइ छ । सातौ पटकसम्म सिफारिसका लागि वडाध्यक्षलाई भेट्दा वडाध्यक्षले सिफारिस नदिएको र हाल सो बजेट अर्को वडामा लगेको थाहा पाएपछि वाध्य भएर ताला लगाउनु परेको उनको भनाइ छ । समिति आफैँ बनाइदिनु भन्दा पनि वडाध्यक्षले पहल नगरेको तथा ठेक्काबाट काम गरौ भन्दा पनि काम नगरेको पराजुलीले बताए ।  वडा कार्यालयले पार्टीगत रुपमा मात्रै काम गरेको र पार्टी निकट मानिस उपभोक्ता समितिमा नभएको कारणले सिफारिस रोकेको स्थानीय मनमाया शिवभक्तिले बताइन् । उनले सो बजेट नपाएसम्म तालाबन्दी जारी रहने बताइन् । दम्भको आधारमा बजेट स्थानान्तरण गरिएको उनको आरोप छ ।   यता वडाध्यक्ष टेकबहादुर घिसिङले तालाबन्दी किन र के का लागि लगाएको भन्ने छलफल र बहस नभएको आफूलाई जानकारी नभएको बताए । गाउँपालिकाको नीति तथा कार्यक्रमका लागि वडाका सबै जनप्रतिनिधी र कर्मचारी वडा कार्यालय बन्द गरेर गाउँपालिकाको कार्यालय गएको बेला ताला लगाएकाले आफूहरु जानकारी बिहीन रहेको उनको भनाइ छ ।  सडक निर्माणका लागि उपभोक्ता समिति बनाउन नदिएको र जहिल्यै असफल बनाउन खोजेपछि टोलवस्तीको नेतृत्वमा काम गरौ भन्दा पनि विवाद निकालेपछि काम हुन नसकेको घिसिङले बताए । जे हुँदा पनि विवाद भएपछि संघीय संसद राजेन्द्र राईले अर्को वडामा लागेको उनको भनाइ छ । असन्तुष्ट पक्षले छलफलको माध्यमबाट समस्या समाधानको लागि वडा कार्यालय तयार रहेको वडाध्यक्ष घिसिङले बताए ।  ताला स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाको टोली ताला तोडेको छ । ताला तोडेको भएपनि आफूहरुको माग पूरा नभएसम्म पुनः वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्थानीयको भनाइ छ ।