पुल निर्माणमा कमजोरी

वर्षा याम शुरू भएको केही समयमा नै यस पटक पुलहरूमा क्षति पुगेको छ । निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पुलहरूमा बिग्रँदा झन्डै रू. १ अर्ब बराबरको क्षति भएको छ । यसपटक विश्वभर नै वर्षाको प्रकृति फरक भएकाले बाढी बढी आएको छ र यसले क्षति पनि बढी नै गरेको छ । तर, पनि नेपालमा पुराना पुलहरूको दाँजोमा नयाँ पुलहरूमा बढी क्षति हुने गरेको देखिन्छ । किन नयाँ पुलहरूमा नै बढी क्षति भइरहेको छ त ? यो गम्भीर प्रश्न उठेको छ । यसरी पुलहरू छिटोछिटो भत्कने हो भने त्यसको लागत धान्न गाह्रो पर्छ र हाम्रो विकास खर्च निकै महँगो पर्न जान्छ । निर्माणाधीन अवस्थामा पुलहरू बढी भत्किएको पाइन्छ । यसो हुनुमा विभिन्न प्राविधिक कारणहरू छन् । निर्माणाधीन पुलहरू बलियो बनिनसक्दै बाढी आउँदा क्षति हुन सक्छ । यसमा कसैलाई दोष दिन मिल्दैन । तर, कमजोर निर्माण सामग्री कमजोर इन्जिनीयरिङ, तथा निर्माण कार्यमा दक्ष जनशक्तिको प्रयोग नहुनुजस्ता कारणले पनि पुल भत्किएका छन् । यसो हुनुको कारण मानवीय कमजोरी हो । यी कमजोरी सुधार्नुपर्ने त छँदै छ, जानाजान गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने अर्को पक्ष पनि स्पष्ट नै छ । तर, निर्माण कम्पनीको लापर्वाही भएकोमा समेत कुनै कारवाही नगरी निर्माणलाई स्वीकृति दिने गरिएको छ । यसले पुल र सडक निर्माणमा लापर्बाही बढिरहेको छ । अन्य मुलुकमा पीच गरिएको सडक वर्षौं नबिग्रनु तर नेपालमा एउटै सडक बिग्रिएर वर्षेनि पीच गरिरहनु यसको उदाहरण हो । ठेकेदार कम्पनी र इन्जिनीयरबीच मिलोमतो भएर नै कमसल निर्माण भएको आरोप बारम्बार लाग्ने गरेको छ । तर, यसलाई छानबिनको दायरामा ल्याउने तथा दोषी साबित भए कारवाही गर्ने काम भएको खासै पाइँदैन । पुल निर्माणमा गल्ती गर्ने पप्पु कन्स्ट्रक्सनलगायत केही कम्पनीलाई कालो सूचीमा राख्ने सामान्य काम भने भएको छ । नेपालमा सडक, सिँचाइ कुलोजस्ता विकास निर्माण कामहरू हुँदा एकीकृत रूपमा हुने गरेको छैन जसले गर्दा माटो र ढुंगाहरू अव्यवस्थित किसिमले फालिन्छ । त्यस्तै नदीबाट गिटीढुंगा निकाल्ने काम पनि योजनाबद्ध र वैज्ञानिक छैन । पुलको आधार क्षेत्रमा बढी ढुंगा माटो थुप्रिएर असर गरेको पाइन्छ भने कतै नदी भासिएर पुलको जगभन्दा मुनि पुगिसकेको अवस्थासमेत छ । अर्को, नेपालमा भौगोर्भिक बनोट, माटोका परीक्षण आदिको डेटाबेस पाइँदैन । पुल बनाउँदा यी तथ्यांक हेर्न नपाउँदा पुलको आयु आकलन गर्न गाह्रो भइरहेको पनि छ । त्यसमाथि पुल बनाउने ठाउँका बारेमा पर्याप्त अध्ययन भएको हुँदैन । जनप्रतिनिधिको दबाबमा विनाअध्ययन उनीहरूले छानेको ठाउँमा पुल बन्दा पनि समस्या भएको छ । कतिपय अवस्थामा सम्बद्ध निकायले निर्माण सामग्री तथा निर्माण कार्यका बारेमा राम्ररी अनुगमन नगर्दा समस्या भएको देखिन्छ । पुल निर्माण गर्दा यसलाई टेको दिने तरिका गलत भएकाले पनि बन्दाबन्दैको पुल बढी भत्किएको पाइन्छ । निर्माण सामग्रीको गुणस्तर कमजोर भएकाले र पर्याप्त मात्रामा तिनको अनुपात नमिलाउनाले पनि पुलहरू कमजोर बनेका छन् । सरकारी अधिकारीले राम्ररी अनुगमन गरेर यस्ता सामग्री तथा तिनको मिश्रण गुणस्तर नभए काममा रोक लगाउनुपर्ने हुन्छ । तर, त्यसो भएको पाइँदैन । गलत डिजाइन हुँदा तथा डिजाइनअनुसार प्रविधिको प्रयोग नमिल्दा पनि पुल कमजोर बन्न सक्छ । पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गरी पुल बनाउन थालिएको सरोकारवालाहरूको भनाइ छ । यसमा पर्याप्त अनुभव छैन जसले गर्दा नयाँ पुलमा बढी क्षति भएको हो । नयाँ पुलमा क्षति बढी पुग्नुको कारणबारे सडक विभाग पक्कै पनि जानकार छ । आवश्यक परे थप अध्ययन अनुसन्धान पनि गराउन आवश्यक छ । अन्यथा यसरी पुल भत्कने हो भने त्यसको लागत धान्न गाह्रो पर्छ र हाम्रो विकास खर्च निकै महँगो पर्न जान्छ ।

सम्बन्धित सामग्री

नेपालका पुल किन कमजोर ?

नेपालमा वर्षाको समय आयो कि पुल भत्किएका समाचार आइहाल्छन् । कतिपय पुल त यत्तिकै पनि भत्किएका समाचार आउँछन् । सयौं वर्ष टिक्नुपर्ने पुलहरू बनाउँदा बनाउँदै वा बनेको १/२ वर्षमै भत्कनु यसको निर्माण पक्षको कमजोरी हो । सम्झौताअनुसार पुल नबनाएको भनी कतिपय पुल उद्घाटन नै नगरी राखिएको छ । यसरी गुणस्तरहीन पुल बन्नुको कारण होला ? पुलहरू निर्माणमा ठूलो धनराशि खर्च भएको हुन्छ । बिग्रे भत्केमा पूरै सडक सञ्जाल नै अवरुद्ध हुन्छ र तुरुन्तै बनाउन पनि सकिँदैन । त्यसैले यसको योजनादेखि निर्माण सम्पन्न र सञ्चालन गर्नमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । पूर्वाधार संरचानाहरूको तोकिएको जीवन अवधिभरि विना कुनै समस्या सञ्चालन हुन्छ भन्न सकिँदैन । संसारभर नै बनेकामध्ये केही पुलहरू बिग्रेको भत्केको समाचार आइरहेकै हुन्छन् । नेपाल पनि यसको अपवाद होइन तर नेपालमा बढी नै समस्या देखिन्छ । यो निर्माणमा भएको हेलचेक्र्याइँ र गलत डिजाइनका कारण भएको हुन सक्छ । पुल बनाउँदा बनाउँदै भत्केका फोटाहरू सामािजक सञ्जालमा भाइरल नै बनेको पाइन्छ । वर्षाको शुरुआतमै दुई दर्जनजति पुल भत्काएको र अर्बौं क्षति भएको समाचार आएको छ । सडक विभागले क्षतिको पूर्ण विवरण दिइसकेको छैन । मध्य वर्षा भएकाले अझै केही पुलमा क्षति पुग्न सक्ने अनुमान विभागले गरेको छ । यस्तो किन भइरहेको छ ? विभागले यसको कारण खोजी गर्नुपर्ने हो । पुल निर्माण गर्दा उपयुक्त साइट छनोटको महत्त्व हुन्छ । तर, स्थानीय व्यक्ति र राजनीतिक नेतृत्वको दबाबका कारण पुल बनाउन उपयुक्त नहुने ठाउँमा पनि पुल बनाएको पाइन्छ । त्यही कारण बाढीपहिरोले सडक र पुलमा क्षति पुग्ने गरेको छ । पुल राख्ने ठाउँको वरिपरिको भू–बनोटको सर्वेक्षण पनि राम्ररी नभएको हुन सक्छ । त्योभन्दा पनि निर्माण सामग्री र निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएका कारण पुलहरू भत्किने गरेको पाइन्छ । पुलको जग गहिरोसम्म नजाँदा पनि समस्या भएको हुन्छ । पुल बनाएपछि खोलाले सतह गहिरो बनाउँदै लैजान्छ । अझ गिटीबालुका उत्खननले पुलको जगभन्दा नदीको सतह तल पुगेको पनि पाइन्छ । जसो पुलहरू भत्कनुमा खोलाले खन्ने गहिराइको सही आकलन गर्न नसक्नु हो । पुलहरू भत्किरहेको पाइन्छ । पुराना पुलहरू बरु बलिया देखिएका छन् । राणाकालीन पुलहरू केही पनि नहुँदा निर्माणाधीन पुलहरू भने गर्ल्यामगुर्लम ढलेको पाइन्छ । पुल भत्कियो भने तुरुन्त बनाउन सकिँदैन । यसरी पुलहरू भत्किँदा नेपालको पूर्वाधार लागत बढिरहेको छ । यसले अर्थतन्त्रमा पनि असर पारेको छ । त्यसैले पुल भत्कनुका कारणहरू खोजी हुनुपर्छ । सडक विभागले यसको निर्माणमा देखिएका कमजोरी हटाउनुपर्छ । घूस खाएर गलत डिजाइन र निर्माण प्रक्रियाका पुलहरू स्वीकृति दिने, बजेट निकासा दिनेहरूलाई कारबाही हुनुपर्छ । नेपालमा सडक पुलजस्ता पूर्वाधार निर्माणमा बढी नै भ्रष्टाचार हुन्छ भन्ने तथ्य सबैजसोले स्वीकारेको पाइन्छ । निर्माण कम्पनीहरूले विभिन्न चन्दा दिनुपर्ने, कर्मचारी, इन्जिनीयर आदि सबैलाई पैसा खुवाउन पर्ने भएपछि निर्माण गुणस्तर हुने कुरै आउँदैन । त्यसमा पनि आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतार गर्ने र त्यसैअनुसार हतारहतारमा काम गर्ने परिपाटीको पुलमात्र होइन सडकहरूको गुणस्तर पनि छैन । त्यही भएर एउटै सडक वर्र्षेनि पीच गर्नेपर्ने, पीच गरेको केही दिनमै खाल्डाखुल्डी पर्नेजस्ता समस्या देखिइरहेका छन् । तर, यसमा कारबाही भने भएको पाइँदैन । हरिश श्रेष्ठ कालीमाटी, काठमाडौं ।