अपि पावरको सर्वाधिक शेयर खरीदविक्री

पुस २१, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टा ३० मिनेटको अवधिमा अपि पावरको सर्वाधिक शेयरको खरीदविक्री भएको छ । कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको रू.८ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४८२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ९७ अंक बढेर २ हजार ६८५ दशलमव ९२ विन्दुमा पुगेको छ ।   

सम्बन्धित सामग्री

फागुन महीनामा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार

चैत ४, काठमाडौं । फागुन महीनामा रू. ६२ अर्ब ९२ करोड ६८ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको छ । फागुन महीनामा १९ दिनमात्र खुलेको बजारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।  यो महीना कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दूरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३ अर्ब ३ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको हो ।  यस वर्ष पहिलो पटक बोनस शेयर प्रस्ताव चैत १ गते सार्वजनिक गरेको कम्पनीको शेयर कारोबारमा फागुन महीनामा उतारचढाब उच्च देखिएको थियो । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । फागुन महीनामा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ५८३ देखि रू. १ हजार ७१४ सम्म पुगेको थियो ।  फागुन महीनाको अन्तिम कारोबार दिन उच्च मूल्य कायम भएको थियो । कम्पनीले गत वर्षकै अनुपातमा कुल ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सार्वजनिक हुनु अघि उच्च मूल्य कायम भएकोमा लाभांश प्रस्ताव सार्वजनिक भएपछि भने मूल्यमा कमी आएको छ । पछिल्लो कारोबार दिन चैत २ गते कम्पनीको अन्तिम मूल्य रू. १ हजार ५६८ कायम भएको छ ।  फागुन महीनामा अपि पावर कम्पनी सर्वाधिक रकमको कारोबार गर्नेमध्ये दोस्रो नम्बरमा रहेको छ । १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको अपि पावरको फागुन महीनामा रू. २ अर्ब ४७ करोड ९५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  यो महीनामा सर्वाधिक रकमको शेयर कारोबार गर्ने १० कम्पनीभित्र नेपाल दूरसञ्चार कम्पनी र अपि पावर कम्पनीसँगै नेशनल हाइड्रोपावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट समेत रहेका छन् ।           नोट : फागुन महीनाको कुल कारोबार : रू. ६२ अर्ब ९२ करोड ६८ लाख ७५ हजार                                                                                              स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

५२.३१ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

आज बिहिबार शेयर बजार परिसूचक नेप्से ५२.३१ अंकले बढेको छ। आज कारोबारमा आएका २२६ कम्पनीका ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर खरीद बिक्रिबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाँको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबै भन्दा धेरै १६ करोड ६५ लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको १३ करोड १२ लाख, र एनआईसी एसिया बैंकको १२ करोड ४६ लाखको कारोबार भएको छ । आज इमर्जिंग नेपाल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.८९ प्रतिशत तथा नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ। आज माउन्टेन इनर्जीको शेयर मूल्य सर्वाधिक ३.०८ प्रतिशतले घटेको छ भने नेपाल टेलिकमको शेयर २.०२ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन्। जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ५.०६ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ४.७९ प्रतिशत, तथा हाइड्रोपावर समुह ४.१५ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट समुह भने ४.२ प्रतिशतले बढेको छ ।

हकप्रद शेयर निष्कासन गर्ने भएपछि अपि पावरको सर्वाधिक शेयर खरीदविक्री

माघ ४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीको रू. २८ करोड ११ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५४ कायम भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलवार कम्पनीको ५ लाख ५ हजार ७६४ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले १: ०.३९ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।

अपि पावरको शेयरमा झुम्मिए लगानीकर्ता : कुल कारोबारमा सर्वाधिक हिस्सा

पुस २७, काठमाडौं । मंगलवारको कारोबारमा अपि पावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  यो दिन कुल कारोबारमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो । मंगलवार रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर कारोबार हुँदा अपि पावरको मात्र रू. १६ करोड ८३ लाख २२ हजार बराबरको ३ लाख २९ हजार ९७५ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ५१० दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ५०६ मा खुला भई न्यूनतम रू. ५०३ देखि अधिकतम रू. ५१८ सम्म पुगेको थियो । यस कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको अधाारमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएसँगै कम्पनीले बोर्डमा निवेदन दिएको हो ।  आयोगले पूर्व स्वीकृति दिदैं विभिन्न ६ शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सो समेत समावेश गरी ऋण र स्वः लगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ ।  त्यस्तै, ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्त समेत राखेको छ । आयोगबाट जारी भएको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना गर्न, हकप्रद शेयरको निष्कासन विवरणपत्रमा प्रकाशन गरिने विवरणहरुमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिमका विवरणहरुको अतिरित्त आयोजना सम्बन्धी आय विवरण उल्लेख भएको १२ महीनाको तालिका समेत समावेश गर्न आयोगले भनेको छ ।  साथै आयोजना सम्पन्न भएपछि सोको कुल लागत सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्नुपर्ने र सोको जानकारी आयोगलाई दिने शर्त पनि रहेको छ । अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्ये रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।

बुधवारको बजारमा सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार : अपि पावर अग्रस्थानमा

पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।  जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो । कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।  जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।  जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।  सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।  हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।

अपि पावरको सर्वाधिक २६ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री

साउन २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।  यो समाचार तयार पार्दाको समय सम्ममा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. २६ करोड ६१ लाख १ हजार बराबरको शेयर खरीदविक्री भएको हो । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८१ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २९ रुपैयाँले वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

अपि पावरको सर्वाधिक ५१ करोड ५४ लाख बराबरको शेयर खरीदविक्री

साउन २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे एक घण्टाको अवधिमा अपि पावर कम्पनीको शेयरमूल्य सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २१२ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ५१ करोड ५४ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५१ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।