कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान (वाच टावर) निर्माण गरिएका छन् । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्नका लागि मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । ‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन मचान निर्माण गरेका छौं,’ उनले भने, ‘झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारमाथि निगरानी राख्न गाह्रो हुने गरेको थियो ।’ मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने उनको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गतवर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । रासस