मानव संसाधन तथा औद्योगिक सम्बन्ध विकासबारे अन्तरक्रिया

विराटनगर (अस) । उद्योग संगठन मोरङको आयोजनामा मानव संसाधन तथा औद्योगिक सम्बन्ध विकासबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणालीबीचको अन्तरसम्बन्धलाई सृदुढ बनाउने महत्त्वपूर्ण पक्षका रूपमा रहेका मानव संसाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको बताए । प्रचलित ऐन कानूनको परिधिमा रही सौहार्दपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनीकरणका उपाय अवलम्बन गरी औद्योगिक शान्ति कायम राख्न सके उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने धारणा उनले व्यक्त गरे । कार्यक्रममा वक्ता एवं असल औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेशकुमार झाले असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने विषयहरूका बारेमा स्पष्ट पारे । कार्यपत्र प्रस्तुतिका क्रममा झाले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानूनी प्रावधानहरूका सम्बन्धमा कम्पनीले आप्mना कामदारलाई स्पष्ट रूपमा पूर्व जानकारी दिनुपर्ने उनले औंल्याए । असल श्रम अभ्यासले विवादरहित कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पुर्‍याउने उनले बताए । कार्यक्रमम उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरूको सहभागिता थियो ।