बरूण हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र ङादी ग्रुप पावरको विशेष साधारण सभा हुँदै, कसको के प्रस्ताव ?

काठमाडौं । बरूण हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासनका लागि विशेष साधारण सभाको मिति तय गरेका छन् । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको उक्त निर्णयलाई कम्पनीले विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्न लागेका हो । हाल कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख १५ हजार छ । सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार कायम हुनेछ । सभाका लागि कम्पनीको ठेगाना परिवर्तन गर्न र पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्तावसमेत तय गरिएको छ । प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तिायारी समेत सभामार्फत दिने कार्यक्रम छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन ४ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि साउन १५ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० शेयर बराबर ६ दशमलव ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड २३ लाख ९७ हजार कायम हुनेछ । सोही बराबरको पूँजी कायम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावसमेत सभाका लागि तय भएको छ । यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने हुन्छ । हकप्रदपछि कम्पनीलाई थप रू. ७ करोड ७६ लाख ३ हजार पूँजी आवश्यक हुन्छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूलाई पूँजी वृद्धिका लागि हकप्रद र बोनस शेयरमा रोक नलगाउने बताइसकेको छ । यस कम्पनीले अघिल्ला वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको छ । गत आर्थिक वर्ष ०७८/७९ को मुनाफबाट पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले विगत १० आर्थिक वर्षमा वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा २६ दशमलव ३१ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ को मुनाफाबाट कम्पनीले उक्त अनुपातमा निरन्तर लाभांश वितरण गरेको थियो । ङादी ग्रुप पावरले शत प्रतिशत हकप्रद शेयर पारित गर्दै  ङादी ग्रुप पावर लिमिटेडले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले विद्युत नियमन आयोगले स्वीकृति दिएबमोजिम शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद निष्कासनका लागि साधारण सभाबाट पारित गराएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाउनुपर्ने हुन्छ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । हाल कम्पनीले लमजुङमा ४ दशमलव ९५ मेगावाट क्षमताको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि हकप्रदमार्फत पूँजी जुटाउन लागेको कम्पनीले जानकारी दिएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।