एशियन लाइफको नयाँ बीमा योजना

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सदस्यत्रय निष्ठा प्रधानांग, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलगायतले संयुक्त रूपमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका, ०७८ को प्रावधानलाई समेट्दै कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको हो । जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेरसम्मका बालबालबालिका लक्षित  ५ देखि २५ वर्ष अवधिसम्मको लागि बीमा गर्न सकिनेछ । यसको न्यूनतम बीमांक ५० हजारदेखि अधिकतम बीमांक प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिनेछ । बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तिमा बीमांक र बोनस रकम एकमुष्ट भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनुअगावै बीमितको मृत्यु भए बीमालेखको सर्तको अधीनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्कबाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिइनेछ । जोखिम प्रारम्भ हुनुअगावै प्रस्तावकको मृत्यु भए र बीमितको कानुनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरे बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता हुनेछ । जोखिम प्रारम्भ भएपछि बीमा अवधिभित्र बीमितको मृत्यु भए बीमालेखको सर्तको अधिनमा रही बीमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमांकको ७५ प्रतिशत रकम ब्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनस एकमुष्ट रकम बीमा अवधि समाप्तिपछि भुक्तानी दिइने कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

एशियन लाइफको नयाँ बीमा योजना

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सुनिश्चित आय (परिवार आयलाभ) जीवन बीमा योजना सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारिराज हुमागाईंलगायतको उपस्थितिमा उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो । बीमा योजनाको मुख्य विशेषतामा एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रूपमा व्यवस्थापन गर्नु रहेको छ । मुनाफामा सरिक नहुने जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमा शुल्क भुक्तानी गरेर अतिरिक्त लाभ जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता, अशक्त सुविधा र बीमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था छ । १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । न्यूनतम वार्षिक बीमा शुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमा शुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा बढी र जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ । कम्पनीले हाल ४२ शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीलाई बीमा सेवा दिँदै आएको छ ।