विराटनगर महानगर अपडेट : कांग्रेस उम्मेदवार कोइराला प्रतिस्पर्धीभन्दा १७६७ मतले अगाडि

जेठ ३, विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाइरहेका छन् । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका कोइरालाले ७ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार सागर थापाले ५ हजार ८२४ मत प्राप्त गरेका छन् । कोइरालाले थापासँगको मतान्तर १ हजार ७६७ बनाएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद प्रसाद साहले १ हजार ४५० मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युन्जय कुमार मिश्रले १४७ मत पाएका छन् । त्यस्तै, विराटनगर महानगरपालिका उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धन उम्मेदवार अरमेन्द्र यादवसँगको मतान्तर २ हजार ९६ बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार कार्कीले ६ हजार ३३३ मत प्राप्त गर्दा  गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका जसपा महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले ४ हजार २३७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्यले १ हजार ८०७ र  स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ४८६ मत प्राप्त गरेकी छन् ।