बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइएको छ । साथै, अध्यक्ष सिलवालले हिमालयन रिइन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीलाई व्यवसाय पठाउन नेपालका २० ओटै निर्जीवन बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गर्न निर्देशन दिएको उल्लेख छ । सोही विवादास्पद निर्णयमा अर्थमन्त्री शर्मा समेत तानिनेगरी अख्तियारमा उजुरी परेको हो । बीमा समितिले गत मंसिर ९ गते नेपालका बीमा कम्पनीहरूलाई स्वदेशमै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । त्यसपछि उक्त निर्णय विवादास्पद भएको छ । बीमा कम्पनीहरू मात्र नभई सरोकारवालाहरूले पनि यसको विरोध गरेका छन् । सो सम्बन्धमा समितिका अध्यक्ष सिलवालले कीर्ते गरेको र सो कार्यमा अर्थमन्त्री जनार्दन शर्माले सिलवाललाई संरक्षण गरेको उजुरीमा भनिएको छ । उजुरीमा अर्थमन्त्री शर्मालाई समेत कारबाहीको माग गरिएको छ । आयोगले सो उजुरीउपर छानबिन गरी लिखित जवाफ पठाउन अर्थ मन्त्रालयमा पत्राचार गरेको मन्त्रालय स्रोतले बताएको छ । अर्थ मन्त्रालयले अख्तियारबाट मन्त्री समेतलाई मुछेर छानबिन गर्न पत्र काटेपछि समितिका अध्यक्ष सिलवाललाई मन्त्रालय बोलाएर छलफल गरेको स्रोतको दाबी छ । अख्तियारको पत्र भने बीमा समितिमा सोमवार दर्ता भएको समितिले बताएको छ । आयोगको पत्रको जवाफ दिनेबारे दुई दिनदेखि बीमा समितिमा छलफल चलिरहेको बताइएको छ । उक्त प्रकरणमा समितिका सञ्चालक कपिलदेव ओली र सुशील कोइरालाका साथै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समेतको संलग्नता रहेको भन्दै कारबाहीको माग गरिएको छ । उजुरीमा मंसिर ६ गते बसेको सञ्चालक समितिको माइन्युटमा मंसिर ९ गते साँझ ४ बजे हस्ताक्षर गराइएको जिकीर गरिएको छ । उजुरीमा अर्थ मन्त्रालयका उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहितको संलग्नतामा बीमा समितिले कीर्ते काम गरेको दुईजना उजुरीकर्ताको जिकीर छ ।