गरीबीको बहुआयामिक समस्या

जीवनका आधारभूत आवश्यकता पूरा गर्न नसक्नु नै गरीबी हो । पछिल्लो समयमा पैसा नहुनु मात्र होइन शक्तिहीनता, आवाजहीनता तथा सामाजिक वञ्चितीकरणको अवस्था पनि गरीबी हो । विश्व बैंकका अनुसार दैनिक १ दशमलव ९ डलरसम्म आम्दानी भएका मानिस अतिगरीब र ३ डलरसम्म आम्दानी भएका मानिस गरीब हुन् । तेस्रो नेपाल जीवनस्तर सर्वेक्षणअनुसार दैनिक २२२० क्यालोरी शक्ति खान नपुग्ने व्यक्ति गरीब हुन् । गरीबी न्यूनीकरण गर्ने पहिलो दायित्व नेपाल सरकारको हो । नेपाल सरकारका सम्पूर्ण क्रियाकलाप गरीबी न्यूनीकरण र समृद्धि प्राप्तिमा केन्द्रित छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, संघीयता र विविधता व्यवस्थापन त्यसका माध्यम हुन् । भौगोलिक र जैविक विविधता, जलस्रोतको प्रचुर अवस्था, सामाजिक र सांस्कृतिक विविधता, अर्थव्यवस्था र श्रमबजारमा सक्रिय जनशक्तिको बाहुल्य, चारैतिर दुई विशाल शक्ति राष्ट्रहरूको उपस्थिति, अन्तरराष्ट्रिय जगत्को सहयोग र सद्भावलगायत पक्ष नेपालको गरीबी न्यूनीकरणका आधारशिला हुन् । गरीबीमुक्त समाज जवाफदेही राज्यप्रणालीको पहिलो अभीष्ट हो, समृद्धिको पहिलो खुड्किला हो । यो एउटा माइल स्टोन हो– पुरानो यात्राको अन्त्य र नयाँ तर्फको प्रस्थानबिन्दु । संघीयताको कार्यान्वयनसँगै नेपालमा अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरू बन्दाबन्दीको अवस्थामा बाहेक सकारात्मक बन्न थालेका छन् । राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारण अर्थतन्त्र वृद्धिको मार्गमा अगाडि बढेको छ । भ्रष्टाचार न्यूनीकरण गरीबी न्यूनीकरणको पूर्वशर्त हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार तथा सुशासनसम्बन्धी प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालले १०० पूर्णाङ्कमा ३३ अंक पाएर कुल १८० मुलुकहरूमा ११७औं स्थान बनाउन सफल भएको छ । विगत केही वर्षदेखि भ्रष्टाचारको दर घटेको तथा जनतामा अधिकारमुखी जागरण बढेकाले गरीबी न्यूनीकरण पछिल्लो समयमा सन्तोषजनक देखिएको छ । पन्ध्रौं योजनाअनुसार हाल १८ दशमलव ७ प्रतिशत जनता निरपेक्ष गरीबीको रेखामुनि छन् । बहुआयामिक गरीबी भने २८ दशमलव ६ प्रतिशत रहेको छ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्तिसम्म यो दर ५ प्रतिशतमा सीमित राखिनेछ भने विसं २१०० सम्म यो शून्य प्रतिशतमा झारिनेछ । हाम्रो गरीबी ‘होमोजिनिटी’ भन्दा पनि ‘हेट्रोजिनिटी’ छ । अर्थात् एकातिर र एउटै क्षेत्रमा मात्र छैन, सबैतिर छरिएको छ । त्यसैले यसको निवारण चुनौतीपूर्ण छ । नेपालमा गरीबी घटेको देखिए तापनि गरीब र धनीबीचको खाडल अस्वाभाविक रूपमा बढ्दै गएको छ । पन्ध्रौं योजनाले सबै प्रकारको गरीबीमुक्त समाज स्थापना गर्ने सोच राखेको छ भने गरीब र धनीबीचको आर्थिक असमानता न्यूनीकरण गर्दै गरीबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा ल्याउने लक्ष्य लिएको छ । गरीबी एउटा अन्तरसम्बद्ध विषय भएकाले उक्त सोच र लक्ष्यलाई साकार पार्न बहुमुखी र बहुआयामिक पक्षहरूको अनवरत क्रियाशीलता जरुरी छ । नेपाल धनी भए पनि जराधार तहका नेपालीहरू उच्च गरीबीमा छन् । मुलुकमा पटकपटकका वाद र व्यवस्था फेरिए पनि जनताको मुहारमा हाँसो ल्याउन सकिएको छैन । जलस्रोतको धनी मुलुक हुँदाहुँदै हिउँद याममा विद्युत् आयात, कृषिप्रधान मुलुक भनिए पनि निरन्तर खाद्यान्न आयात, वनसम्पदा र जडीबुटीले सम्पन्न मुलुक भनिए पनि औषधि आयात हाम्रो लज्जास्पद यथार्थ हो । मलेशियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले राजनीतिक स्थिरता, आर्थिक स्थायित्व र लगानीका लागि सहुलियत यी ३ मन्त्रको उपयोग गरेर त्यहाँको उच्च गरीबी न्यूनीकरण गरी आफ्नो २२ वर्षे शासनकालमा समृद्ध मलेशियाको निर्माण गरेका थिए । परिणामतः आज मलेशिया एशियाकै आर्थिक शक्तिका रूपमा स्थापित भएको छ । योे अनुकरणीय उदाहरण हाम्रा लागि पनि उत्तिकै मननीय छ । तर, प्रश्न यो छ कि मनन गर्ने कसले त ? मुलुक स्रोतमा धनी छ । जल, जंगल, जमीन, जडीबुटी र विविधता झल्कने सौन्दर्ययुक्त समाज छ । भौगोलिक र जैविक विविधता, जलस्रोतको प्रचुर अवस्था, सामाजिक र सांस्कृतिक विविधता, अर्थव्यवस्था र श्रमबजारमा सक्रिय जनशक्तिको बाहुल्य, चारैतिर दुई विशाल शक्ति राष्ट्रहरूको उपस्थिति, अन्तरराष्ट्रिय जगत्को सहयोग र सद्भावलगायत उत्कृष्ट वातावरण नेपालको गरीबी न्यूनीकरणका आधारशिला हुन् । सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य र सभ्य, सुसस्कृत एवं कर्तव्यनिष्ठ समाज निर्माण गर्दै समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणका लागि मूल कानून संविधान र अन्य प्रशस्त ऐन कानूनहरू विद्यमान छन् । तथापि व्यावहारिक पक्ष अस्तव्यस्त छ । नेपालमा राजनीतिज्ञ धर्मछाडा र कर्मचारी कर्मछाडा भएका कारण विकासले वाञ्छित गति लिन नसकेको आरोप छ । समाज जहाँ मर्यादाको पालना हुन्छ त्यहाँ कानून नै नचाहिने र जहाँ मर्यादाको पालना हुँदैन त्यहाँ कानून भएर पनि लागू नहुने भन्ने भनाइको दोस्रो वाक्यांश नेपालका राजनीतिक तथा प्रशासनिक दृष्टान्तहरूमा देखिएको छ । त्यसैले मुलुकमा राजनीतिक प्रशासन र प्रशासनिक राजनीति मौलाइरहेको छ । दण्डहीनता हाबी भएको छ । गरीबी न्यूनीकरण र समृद्धिको सबलीकरणका नाममा गैरबजेटरी खर्च बढिरहेको छ । खासगरी गरीबी निवारण भन्दा पनि गरीबीको पहिचान मुश्किल देखिएको छ । नेपालका शुरूका आवधिक योजनाहरूले अप्रत्यक्ष रूपमा गरीबी न्यूनीकरणका कार्यक्रमहरू ल्याए पनि आठौं योजनादेखि प्रत्यक्ष रूपमा यसैलाई उद्देश्य बनाएर अगाडि बढेका छन् । नवौं योजनादेखि यता त एक मात्र उद्देश्य नै गरीबी निवारण रहेको छ । तर, कसैले पनि जिम्मेवारी नलिँदा मुलुकमा अभैm पनि १८ दशमलव ७ प्रतिशत जनता गरीबीको रेखामुनी रहेका छन् । विगतको दुई तिहाइ जनादेश प्राप्त सरकारलाई सम्मानित सर्वोच्च अदालतबाट परास्त गरेर ५ दलीय गठबन्धनको सरकार छ, जसको कामकारबाहीलाई संसारले उत्सुकतापूर्वक नियालिरहेको छ । निजामती सेवालगायत अन्य सरकारी सेवाको आरक्षणमा पनि लक्षित वर्गको तल्लो पंक्तिका जनताले लाभ लिन सकेका छैनन् । लक्षित समुदायका सम्भ्रान्त वर्गले मात्र दोहोर्‍याइतेहोर्‍याई लाभ लिइरहेका छन् । बाहुनक्षत्रीका गुणस्तरयुक्त नवयुवाहरूको प्रतिभा लोकसेवा आयोगबाट टाढिएको छ । यो विषयमा अध्ययन, मनन र विश्लेषण गर्ने कसले ? विश्लेषणको परिणाम गलत देखिए सच्याउने कसले ? गरीबी निवारणका लागि हामीले सधैं सपना मात्र देखेर हुँदैन, काम गर्नुपर्छ । गरीबी निवारणका प्रयास खहरे खोला जस्तो होइन निरन्तर बग्ने हिमनदी जस्तो हुनुपर्छ । समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा, सूचना र सञ्चारको प्रभावकारी पचिालन र व्यवस्थापन गर्न उत्पादनशील, ऊर्जाशील र सृजनशील जनशक्ति व्यवस्थापन गर्नुपर्छ । मुलुकमा ग्रेसम्स ल (खराब काम कुराले असल काम कुरालाई जित्ने अवस्था) हाबी हुन दिनु हुँदैन । पोर्क ब्यारेल प्रोजेक्ट (प्रतिफल विश्लेषणविनाको आयोजना) चयन गर्नु हुँदैन । पीपीपी (सार्वजनिक निजी साझेदारी) को भरपूर अभ्यास गर्नुपर्छ । उद्योगधन्दा र कलकारखानाहरूको स्थापना र विकास गरी प्रशस्त रोजगारीका अवसरहरू सृजना गर्नुपर्छ । कर्मचारी काजमा होइन, कामकाजमा रमाउनुपर्छ । परिवर्तनको सर्जक र विकासको सोपानको रूपमा सुपरिचित निजामती सेवा आफ्नो विज्ञता, अनुभव, प्रामाणिकता र जानकारीका कारण सद्गुणहरूको संगमस्थल बन्न सक्नुपर्छ । प्रशासकहरूले अतिवादी सोच र नेताहरूले उग्रवादी धारणा त्यागेर आफूलाई राष्ट्रनिर्माण र सामाजिक आर्थिक परिवर्तनमा अक्षुण्ण रूपमा समर्पण गर्नुपर्छ । राजनीति नीति राजनीतिप्रति उत्तरदायी हुनुपर्छ न कि नेता राजनीतिप्रति । जनता जनार्दनले निर्वाचनमा हुने मताधिकारको प्रयोगबाट जनअपनत्वको सबलीकरणसहित सम्भावनाको सपना बोकेको आदर्श नेतृत्व चयन गर्नुपर्छ । लेखक नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन् ।

सम्बन्धित सामग्री

विकासमा बहुराष्ट्रिय समस्या

विकास बहुआयामिक शब्द भएको हुनाले यसले विभिन्न पक्षसँग सरोकार राखेको हुन्छ । त्यसकारण के भयो भने विकास हुन्छ भन्ने प्रश्न सधैँ अनुत्तरित हुन्छ । अर्थशास्त्रीको दृष्टिकोणबाट हेर्दा आर्थिक वृद्धिलाई मापक बनाउन सकिन्छ...

बहुआयामिक विकासमा पछाडि

मुलुक संघीय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचनपछि भने अहिले स्थानीय सरकारको कर र अन्य विविध झमेलाले उद्योगी व्यावसायीलाई चिन्तित बनाएको छ । उद्योग स्थापना गर्ने वडाका वडा अध्यक्षहरुले विभिन्न बहानामा अवरोध गर्ने गरेका कारणले समस्या आउने गरेको उद्योगी व्यावसायीले गुनासो गर्ने गरेका छन् । मुलुकको प्रमुख प्रवेशद्वार र भौगोलिक रुपमा अति सुगम जिल्ला हो […]

कोप-२७ र नेपाल

विश्वव्यापी जलवायु परिवर्तनले सिर्जना गरेका बहुआयामिक समस्या समाधान गर्न वार्षिक रूपमा गरिने सम्मेलन कोप-२७ भर्खरै सकिएको छ।...

‘हामीले नेपाली पर्यटनको कथा भन्नै सकेनौँ’

काठमाडौँ- नेपालमा शिक्षामा ठूलो समस्या देखिन्छ । किनकि पर्यटन जस्तो बहुआयामिक विषय सरकारी शिक्षामा सुरुदेखि समेटिएन । अहिले बिस्तारै पढाई हुन थालेको छ । शिक्षामा समस्या वा कमजोरी छ भनेर औला धेरैले उठाउनु भयो । तर विवेक गुमेपछि यस्तो हुन्छ । अहिले पनि यो विवेक गुम्ने काम गर्ने सरकारी निकाय र निजी क्षेत्रकै बढी छन् […]

दलगत मतदानमा देखिएको अरुचि व्यवस्थाकै लागि समस्या हो : सभामुख

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ अन्तरक्रियामा उनले शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने बताएका हुन्। अहिले मतदाता

सामूहिक चिह्नका बहुआयामिक उपादेयता

सामूहिक चिह्न वास्तवमा हाम्रो जस्तो कम विकसित मुलुकमा ठूला लगानीका भन्दा साना लगानीका उद्योगधन्दामा बढी उपयुक्त हुने देखिन्छ । मुलुकमा ससाना व्यवसायीहरूले आफैले छुट्टै ट्रेडमार्क दर्ता तथा संरक्षण गरी प्रयोगमा ल्याउन खर्चिलो र झन्झटिया हुन्छ । अत: सामूहिक चिह्नलाई यस्ता उद्योग व्यवसायले उत्पादन गरेको वस्तुको बजार संरक्षण र प्रवर्द्धन गर्न अति मितव्ययी र प्रभावकारी उपायका रूपमा लिइन्छ । यसका बहुआयामिक उपादेयता छन् । तिनलाई निम्नानुसार चर्चा गर्न सकिन्छ । साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगका लागि लागत साझेदारीको अवधारणाअनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । भौगोलिक संकेतको संरक्षण गर्ने वैकल्पिक उपायका लागि सामूहिक चिह्न नेपाल गाउँ नै गाउँले भरिएको तथा भौगोलिक एवं जैविक विविधता प्रचुर मात्रामा भएको मुलुक भएकाले भौगोलिक संकेतका रूपमा उपयोग गरी उत्पादन गर्न सकिने वस्तु धेरै छन् । हिमालयन पिउने पानी, विभिन्न जडीबुटी, केही निश्चित कृषिपैदावर, केही हस्तकला सामान आदि यसका उदाहरण हुन् । यस्ता भौगोलिक संकेतलाई सामूहिक चिह्नका रूपमा संरक्षण गर्न सकिने वैकल्पिक सम्भावना रहेको छ । तिनलाई सामूहिक चिह्नको उपयोगबाट कुनै गाउँ वा इलाका वा जिल्ला वा समग्र मुलुककै उत्पादनलाई राष्ट्रिय वा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ठूलो अवसर मिल्छ । केही वस्तु औंल्याएर नै भन्नु पर्दा ठाउँको नामबाट फर्पिङ नास्पाती, मार्फा ब्रान्डी, भक्तपुरे दही, इलामे चिया, प्यूठानी मूला, दंगाली तोरी तथा मुलुकको नामबाट नेपाल चिया, नेपाल कार्पेट, पर्वतीय क्षेत्रको नामबाट हिमाली कञ्चन पानी, एभरेष्ट मूलको पानी आदिलाई लिन सकिन्छ । यस्ता भौगोलिक नामहरू आफैमा सामूहिक चिह्न पनि हुन् र तिनको व्यवस्थापन सामूहिक रूपले नै गरिन्छ । यसबाट आन्तरिक तथा बाह्य बजारमा यी वस्तुको पहिचान सुरक्षित राख्न मद्दत पुग्ने देखिन्छ । मुलुकमा यस्ता उत्पादनलाई संरक्षण गर्ने वैकल्पिक कानून नभएको अवस्थामा तत्काललाई सामूहिक चिह्नका रूपमा ती वस्तुको संरक्षण गर्न सकिन्छ । भारतमा भौगोलिक संकेतसम्बन्धी कानून नआउँदासम्म दार्जिलिङ चियालाई कहिले ट्रेडमार्क कानूनअन्तर्गत त कहिले सामूहिक चिह्नकै रूपमा संरक्षण प्रदान गरिएको थियो । ‘एक गाउँ एक वस्तु’को प्रवर्द्धन र सामूहिक चिह्न कृषि उत्पादनको यो प्रणाली दक्षिणपूर्वी एशियाली मुलुकमा निकै लोकप्रिय र सफल पनि छ । हाम्रो मुलुकमा पनि एक गाउँ एक वस्तुको नारालाई उत्पादनमा रूपान्तरण गर्ने प्रयोजनका लागि सामूहिक चिह्न एक सशक्त उपकरण हुन सक्छ । उस्तै पेशा व्यवसायमा लागेका उस्तै वस्तु उत्पादन गर्ने एउटा गाउँका असंख्य व्यवसायीहरूलाई एउटा सामूहिक चिह्नभित्र आबद्ध गरेर एउटै ब्रान्डको वस्तु उत्पादन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । विगतमा नेपालमा लघु उद्यम कार्यक्रमले सिन्धुली र रामेछापमा जुनारको प्रवर्द्धन, प्युठान र पर्वत जिलालमा अदुवामा आधारित वस्तुको प्रवर्द्धन, तेह्रथुम र डँडेलधुरा जिल्लामा लालीगुराँस र काफलको जुसको प्रवर्द्धन, दाङको हापुरेमा महको तथा देउखुरी गडवामा सेरामिक्सको सफलतापूर्वक प्रवर्द्धन गरिरहेका उदाहरण पनि छन् । यी उत्पादनलाई सामूहिक चिह्नको प्रयोगमार्फत राष्ट्रिय, अन्तरराष्ट्रिय बजारको सुनिश्चितता दिलाउन सकिन्छ । परम्परागत हस्तकला प्रवर्द्धनका लागि सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगबाट परम्परागत हस्तकलाका सामानहरू पनि प्रवर्द्धन गर्न सकिन्छ । नेपाल हस्तकलाका सामानहरूको प्राचीन थलो हो । यस्ता सामग्रीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा ठूलो ख्याति कमाएका छन् । यस्ता हस्तकलाका सामानहरूमा ठाउँ अनुसारका समूह चिह्न प्रयोग गरेर अझै धेरै मात्रामा त्यहाँका व्यवसायीहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन सकिन्छ । जस्तै पाल्पा र तेह्रथुमको ढाका, सल्यान र भोजपुरको खुकुरी, त्यस्तै गोरखा भादगाउँ, कान्तिपुर, पाटनजस्ता विभिन्न हस्तकलाका सामानको लागि ऐतिहासिक ख्याति कमाएका ठाउँका व्यवसायीलाई निश्चित समूहमा आबद्ध गरेर सामूहिक चिह्नको मद्दतले अझै बढी बजार प्रवर्द्धन गर्न सकिने सम्भावना छ । सामूहिक चिह्न र अन्तरराष्ट्रिय बजारमा स्वदेशी वस्तुको पहुँच  सामूहिक चिह्नको महत्त्व आफ्नै बजारका लागि पनि उत्तिकै हुन्छ । त्यसमाथि पनि लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । सामूहिक चिह्नको प्रयोग र संरक्षण कम खर्चिलो र सरल उपाय बन्न सक्छ । तर, आफ्नै मुलुकभित्रको बजारमा आफ्नो वस्तु प्रवर्द्धन गर्दा पनि अधिकांश उद्यमीले अझै पनि चिह्नको प्रयोगबारे थाहा नपाएको अथवा थाहा पाएर पनि संरक्षणका लागि लाग्ने सामान्य खर्च पनि जुटाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न विदेशी मुलुकमा वस्तु निर्यात गर्नका लागि चिह्न दर्ता गराउनु भनेको कोराकल्पनाको विषय मात्र हुन सक्छ । तसर्थ, यस्तो परिस्थितिमा साना व्यवसायीहरू छाता संगठनमा आबद्ध भएर सोही संगठनमार्फत सामूहिक चिह्न प्रयोगको लागि लागत साझेदारीको अवधारणा अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ । यसो गर्दा चिह्नको दर्ताका लागि लाग्ने सबै आर्थिक भार एउटै व्यवसायीको थाप्लोमा मात्र नपरी सबैमा बाँडिन्छ, जुन वहन गर्न ससाना व्यवसायी पनि समर्थ हुन्छन् । यस अतिरिक्त, जोखिममा रहेका र न्यून आय भएका किसान र उद्यमीहरूको सामूहिक हितका लागि सामूहिक चिह्नको दर्ता गर्न लाग्ने खर्चमा सरकारले पनि केही अनुदान उपलब्ध गराउन सकेमा यसबाट गाउँस्तरका सानासाना किसान र व्यवसायीको उत्पादनले पनि बजारमा छुट्टै पहिचान बनाउन सक्छ र बजारीकरणमा ठूलो फाइदा पुग्ने देखिन्छ । साना व्यवसाय प्रवर्द्धन गर्ने उपायको रूपमा सामूहिक चिह्न सामूहिक चिह्नको प्रयोगका सन्दर्भमा सबैभन्दा चासोका साथ हेरिने विषय भनेको उत्पादित वस्तुको एकरूपता र स्तरीयता निर्वाह गर्न यसले कसरी मद्दत गर्छ भन्ने नै हो । यस सन्दर्भमा बुझ्नुपर्ने कुरा के छ भने साना व्यवसायले भोग्नु परेको मुख्य समस्या भनेको बजार हो । त्यस्तो समस्या खासगरी वस्तुको प्रतिस्पर्धी क्षमता न्यून हुनाले तथा वस्तुको एकरूपता र स्तरीयता सुनिश्चित नहुनाले सृजना भएको हो । यस्तोमा कृषि, वन र हस्तकलामा आधारित श्रममूलक व्यवसायको समुचित छनोट गर्न सकेमा साना व्यवसायीहरू प्रतिस्पर्धाको मारबाट बच्न सक्छन् । उत्पादित वस्तुको स्तरीयता र बजारको पहुँचमा भने अझै पनि ठूलो समस्या र जटिलता रहेको छ भने यस समस्याबाट मुक्ति दिने एउटा उपयुक्त विकल्प सामूहिक चिह्नको प्रयोग हुन सक्छ । खास किसिमका उत्पादनसँग सम्बद्ध कुनै वस्तुगत संघ वा ट्रस्टले सम्बन्धित व्यवसायीका लागि निश्चित आचारसंहिताको पालना गराएर उस्तै वस्तु उत्पादन गर्ने हजारौं साना व्यवसायीलाई एउटै सामूहिक चिह्नमा आबद्ध गराएर तथा उक्त चिह्नको संरक्षण गरेर वस्तु बजारमा पठाउने परिपाटी गर्ने हो भने यो समस्या सजिलैसँग समाधान हुन सक्छ । यस क्रममा सरकारले कम हस्तक्षेपकारी भूमिका निर्वाह गरी खासगरी चिह्न संरक्षणका लागि जिम्मेवारी वहन गर्ने निकायलाई आवश्यक ऐन, नियम जारी गरेर तथा साधनस्रोत उपलब्ध गराएर साना व्यवसायीलाई सुसंगठित तुल्याउनुपर्ने हुन्छ । साथै, वस्तुगत संघलाई सामूहिक चिह्नको उपयोगतर्फ उत्प्रेरित गर्न सरकारले आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउनुपर्ने हुन्छ । यीबाहेक साना व्यवसायीका लागि सामूहिक चिह्नका अन्य बहुआयामिक लाभहरू पनि रहेका छन् । नेपाल सरकारले यसको प्रवर्द्धनतर्फ विशेष ध्यान पुर्‍याउन आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा नीतिगत समस्या

केही महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्ड नेतृत्वविहीन बन्दा महिनौंदेखि बोर्डले गर्दै आएका काम–कारबाही ठप्प भएका छन् । हुन त अध्यक्षका लागि शुक्रबार पाँच जनाको नाम सिफारिस गरिसकिएको छ, तर अहिलेसम्मको अवस्था हेर्ने हो भने बोर्डको अध्यक्ष नहुँदा यसले बहुआयामिक रूपमा असर पारेको छ । एक त महिनौंदेखि प्राथमिक सेयर निष्कासन हुन पाइरहेको […]

चिसोले छट्पटाउँदै विपन्न, चुपचाप सरकार

प्रदेश २ को मानव विकास सूचकांकअनुसार यहाँको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ। गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ। बहुआयामिक गरिबीमा प्रदेश ...