फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अन्य परिस्थिति उत्पन्न नभएमा आइतवार नै अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन हुने भएको छ ।
आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका नेताहरु सम्झौताको व्याख्यात्मक छलफल गरेर पारित गर्न सहमत भएका थिए । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल गरेपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर एमसीसी पारित गर्ने तयारी छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतवार नै अनुमोदन हुने जानकारी सञ्चाकर्मीहरुलाई दिएका छन्।
एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । यसैबीच आइतवार प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा केही समय ढिलागरी शुरु हुने भएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका दलका नेताहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्तावलगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतवारको निर्धारित बैठक हुन ढिलाइ हुने भएको हो ।
संसद भवन बाहिर प्रदर्शन जारी
एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले भने आइतवार पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् ।
युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै नाराबाजी गरेका थिए ।
तर उसकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा एकसाता यता दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ ।