बजेट स्वागतयोग्य : बिस्कुट उत्पादक संघ

काठमाडौं (अस) । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटप्रति बिस्कुट उत्पादकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । बिस्कुट उत्पादक संघले बुधवार विज्ञप्ति जारी गर्दै बजेट स्वागतयोग्य रहेको बताएको हो । बजेटमा उद्योग व्यवसाय, कृषि क्षेत्र, जलविद्युत् लगायत समग्र क्षेत्र समेटिएकाले उत्साह थपेको संघको भनाइ छ । ‘स्वदेशी उद्योगको उत्थानका लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयको स्वागत गर्दछौं,’ संघद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बिस्कुट उत्पादनका लागि आवश्यक कच्चापदार्थ आयातमा समेत भन्सार महशुल र अन्तःशुल्कमा दिइएको छूटले स्वदेशी उद्योगको संरक्षण हुने संघको भनाइ छ । स्वदेशी उद्योगको यथार्थ समस्या बुझेर सरकारले सकारात्मक सहयोग गरे विगतमा बन्द भएका उद्योग समेत खुल्ने र नयाँ उद्योग खोल्न प्रोत्साहन मिल्ने संघले बताएको छ ।