अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग संघ चितवन

वैशाख २५, चितवन । उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड संक्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो । संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनका अनुसार धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । जिल्लाका ४० ओटाभन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० ओटाभन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।            संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । रासस  

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन शुरू

हेटौंडा । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन शुरू गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरेको सो अस्पतालले बताएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि प्लान्टबाट उत्पादन शुरू भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।      उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको भन्दै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शøया तयारीको अवस्थामा रहेको बताइएको छ । हाल अस्पतालमा ९ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले बताएको छ । रासस