तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याज घट्ने

वाणिज्य बैंकहरुका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि सर्कुलर जारी गर्दै नीतिगत दर बढाएपनि संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको हो ।राष्ट्र बैंकले जारी गरेको निर्देशनमा  राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने ब्यबस्था गरेपनि संघले भने तत्काल ब्याज नबढाउने र पुर्ने ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो  ।निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने ब्यबस्था रहेको छ । सोहि अनुसार भदौ महिनामा ब्याज बढाउने कि नबढाउने भन्ने बारे सौं अन्त्यमा छलफल गरेर निर्णय गर्ने संघले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले  संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेसंगै संघले संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ । यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो ।