अर्थमन्त्रीले अब के गर्लान् ?

काठमाडौं । डा. प्रकाशरण महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको १ वर्ष नाघेको छ । अर्थ मन्त्रालयमा उनी आइसकेपछि निजीक्षेत्रको मन जित्दै मन्दीमा रहेको अर्थतन्त्र सुधार्ने धेरैको अपेक्षा रहे पनि त्यो पूरा हुन सकेको छैन ।  उद्योगी, व्यवसायीहरू अहिले पनि समस्याबाट माथि उठ्न सकिरहेका छैनन् भने क्षमताअनुसार उद्योगहरूले उत्पादन गर्नसमेत कठिन भएको छ । अहिले त झन्डै दुई दर्जन उद्योगको बिजुली नै सरकारले काटिदिएको छ, त्यसले पनि अझ बढी अप्ठ्यारोमा परेको उद्योगी बताउँछन् । अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली उपभोग गरेबापतको बक्यौता नतिरेको भन्दै २३ ओटा उद्योगको बिजुली काटिदिएको छ । यही बेला अर्थमन्त्री महतले भने बाहिर प्रचार गरिएजस्तो अर्थतन्त्र खराब नरहेको बताइरहेका छन् ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले आफूले कार्यभार सम्हाल्दाको तुलनामा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा रहेको बताउँदै अहिले धेरै सल्टिसकेको दाबी गरेका छन् । ‘आर्थिक वृद्धि खुम्चिएर १ दशमलव ८६ प्रतिशत पुगेको अवस्थामा मैले कार्यभार सम्हालेको हुँ,’ उनले पार्टी केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘२०७९ फागुनपछि ९ महीनामा अधिकांश परिसूचक सुधारोन्मुख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमश: कम हुँदै गएको छ र आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट संकेत देखिन्छ ।’ अर्थमन्त्रीका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा राजस्व परिचालन ११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्राप्ति र राजस्वसहित संघीय सरकारको आय ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा खर्च र आयबीचको अन्तर करीब रू. ७१ अर्ब रहेको हुँदा तुलनात्मक रूपमा स्रोतमाथिको दबाब कम हुँदै गएको छ । यस अवधिमा संघीय सरकारको खर्च ४ दशमलव १ प्रतिशत र आय ७ दशमलव ६ प्रतिशतले बढेको छ ।  चालू आवको पहिलो ४ महीनामा विप्रेषण आयमा २६ दशमलव ४ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ भने शोधनान्तर स्थिति र चालू खाता दुवै क्रमश: रू. १४७ अर्ब र रू. ९६ अर्बले बचतमा छन् । विदेशी विनिमय सञ्चिति ३६ दशमलव १ प्रतिशतले बढेको छ । यसबाट समग्र बाह्य क्षेत्र स्थिरता कायम हुनुको साथै यो क्षेत्र थप सबल र सुदृढसमेत हुँदै गएको छ । वस्तु तथा सेवा निकासी प्रवर्द्धन गरी व्यापारघाटा सुधार गर्दै जानेतर्फ थप प्रयास गरिएको उनको भनाइ छ । साथै वित्तीय क्षेत्रमा विगतमा देखिएका तरलतालगायत समस्या पछिल्लो समयमा नरहेकाले यो क्षेत्रसमेत सुदृढ हुँदै गएको अर्थमन्त्री महतले दाबी गरेका छन् । महतका अनुसार स्रोत व्यवस्थापनमा देखिएको दबाब क्रमश: न्यून हुँदै गएको र बाह्य क्षेत्र सन्तुलन कायम रहिरहनुका साथै थप सबल एवं सुदृढ हुँदै गएकाले आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जानेछ । अबको कार्यदिशा के हो ? अर्थमन्त्री महतका अनुसार शुरू भएका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गर्ने सरकारको कार्यदिशा छ । अल्पकालमा सरकार र निजीक्षेत्रबीच उच्चस्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उत्पादन, उपभोग र लगानीमा प्रतिबिम्बित गराउने र सरकारी खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरू फुकाउने योजना छ ।  मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुन:संरचना गर्ने र युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्दै अपेक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न जोड दिइने अर्थमन्त्री महतको प्रतिवेदनमा उल्लेख छ । महतको प्रतिवेदनमा आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्न तयारी शुरू गरेको र लगानी सम्मेलनअघि नै लगानीसँग सम्बद्ध कतिपय नीतिगत र कानूनी सुधार अगाडि बढाइने उल्लेख छ । ‘तुलनात्मक लाभ र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताको उपस्थितिमा सार्थक सम्मेलन गर्न सरकार लागिपरेको छ,’ उनको प्रतिवेदनमा भनिएको छ, ‘दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानूनको तर्जुमा र कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण सृजना गरिनेछ ।’