क्लाइमेट फन्डको ऋण लिँदै ग्लोबल बैंक

काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जीसीपीएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (रू. ३ अर्ब ३३ करोड बराबर) ऋण लिने भएको छ । दुई पक्षबीच यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमता अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा पहिलोपटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो ।  वातावरण संरक्षणमा यसको महत्त्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जाक्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने बताए । ‘विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँग सहकार्य हुनु आफैमा महत्त्वपूर्ण हो,’ उनले भने । ेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जाक्षेत्रमा प्रभावकारिता एवं दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय सुविधा उपलब्ध गराउन क्लाइमेट फन्डले महत्त्वपूर्ण सहयोग पुर्‍याउने दुवै पक्षको विश्वास छ । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बताइएको छ ।