अर्थमन्त्रीकाे प्रश्न : ठूलो परिमाणममा पैसा सिरानमुनी वा ओछ्यानमुनी कहाँ हरायो ?

चैत ४, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन् । शुक्रवार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताएका हुन् । उनले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । ‘पूँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’, उनले भने, ‘हाम्रो पूँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’ मन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाई हुने प्रकृया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्’,मन्त्री शर्माले भने । पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको शर्माको भनाइ थियो । ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादन मुलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु’, उनले भने । बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने विश्वास मन्त्री शर्माले व्यक्त गरे ।