अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालयका तत्कालीन दुई जना कार्यालय प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दैलेखको चामुण्डा विन्द्रासैनिक नगरपालिकास्थित चामुण्डा माध्यमिक विद्यालयमा परिषद्बाट तालिम सञ्चालनका लागि निकासा भएको रकममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो। तालिम सञ्चालनका लागि परिषद्बाट निकासा भएको रकम मिलेमतोमा विद्यालयले सञ्चालन नगरी निजी कम्पनीलाई दिइएको, यसरी तालिम सञ्चालनको जिम्मा दिँदा न्यूनतम सर्त पनि पूरा नगरेको आयोगको दाबी छ। मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछाने, मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, दैलेखको चामुण्डा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही रहेको अख्तियारले जनाएको छ।