धितोपत्र दोस्रो बजार २ हजार विन्दु नजिक, सातामा २ खर्बभन्दा बढीले पूँजीकरण वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार दुई हजार विन्दु नजिक पुगेको छ । यो साता ७ दशमलव ६६ प्रतिशत बढेर धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १ हजार ९९४ दशमलव ६० विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ८५२ दशमलव ७७ विन्दुमा रहेको थियो । अंकको हिसाबमा गत साताभन्दा यो साता १४१ दशमलव ८३ अंक नेप्से परिसूचक बढेको हो ।  बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएसँगै धितोपत्र दोस्रो बजार सकारात्मक बनेको हो । यो साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने शेयर धितोकर्जाको जोखिम भारलाई घटाएर १२५ प्रतिशत कायम गरेको छ भने बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाई ७ प्रतिशत र नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ५ दशमलव ५ प्रतिशत कायम गरेको छ । जसको फलस्वरूप बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकको ब्याजदर बढ्दा र घट्दा धितोपत्र दोस्रो बजार प्रभावित हुँदै आएको छ । बैंकिङ प्रणालीमा तरलता सहज भएको अहिलेको अवस्थामा ब्याजदर घट्दा धितोपत्र बजारमा लगानी बढेको ब्रोकरहरू बताउँछन् । लगानीकर्ताहरूको मनोबल यतिबेला बढेको अवस्था रहेकाले बजारले सकारात्मक गति लिनेमा ब्रोकरहरू विश्वस्त छन् । यो साता नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३५२ दशमलव २८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३७६ दशमलव ३६ विन्दुमापुगेको छ । यो साता पाँच कारोबार दिनमा १६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँभन्दा बढीको ५ करोड २ लाख ६२ हजार कित्ता धितोपत्र कारोबार भएको छ । गत साता ७ अर्ब ६४ करोड ७१ लाख रुपैयाँभन्दा बढीको २ करोड ५२ लाख ७४ हजार रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँभन्दा बढीको २ करोड ४९ लाख ८७ हजार बढी धितोपत्र कारोबार भएको हो ।  औसतमा यो साता ३ अर्ब ३३ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत साता औसतमा १ अर्ब ५२ करोड ९४ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । औसत कारोबार रकम गत साताभन्दा यो साता १ अर्ब ८० करोड ९५ लाख रुपैयाँले बढेको हो । औसत कारोबार कित्ता भने गत साताभन्दा यो साता ४९ लाख ९७ हजारभन्दा बढीले बृद्धि भएको छ । गत साता औसतमा ५० लाख ५४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १ करोड ५२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताभन्दा यो साता कुल कारोबार रकम ११८ प्रतिशतभन्दा बढी, कुल कारोबार कित्ता करीब ९९ प्रतिशत बढी भएको हो । बजार करीब ८ प्रतिशत बढ्दा धितोपत्र दोस्रो बजारको पूँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । यो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी थियो । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण ७ दशमलव ४९ प्रतिशत अर्थात् २ खर्ब १४ अर्ब २६ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) । बजार बढ्दा जलविद्युत क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण  करीब ८ प्रतिशत बढेको यो साताको बजारमा जलविद्युत समूहको शेयरमै लगानीकर्ताको आकर्षण देखिएको छ । यो साता सबै समूहगत परिसूचकहरू बढेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक १३ दशमलव १७ प्रतिशत बढेको हो । त्यस्तै वित्तको ९ दशमलव ३८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ९ दशमलव २२ प्रतिशत, विकास बैंकको ८ दशमलव ८४ प्रतिशत, निर्जीवन बीमाको ८ दशमलव ३५ प्रतिशत, होटल तथा पर्यटनको ८ दशमलव १६ प्रतिशत, लघुवित्तको ८ दशमलव १५ प्रतिशत, अन्यको ७ दशमलव ९९ प्रतिशत, लगानीको ७ दशमलव ३६ प्रतिशत र जीवन बीमा समूहको सबैभन्दा कम ६ दशमलव ३४ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।