म यो देशको मान्छे

तीर्थराज जोशी एल.आर. आई. स्कुल, कलंकी,काठमाडौं म यो देशको मान्छे हिमालको स्वर्ण आभामा खुलाउँदै दृष्टिचेत पूर्वीय दर्शनको झुल्कोमा भेट्छु आफूलाई खोला, पहरा, नदी र छहराको गुञ्जनमा गाउँदै प्रकृतिको मधुर गीत हराउँछु पहाडको हरियाली र तराईका फाँटहरूमा। ज्योतिको पङ्ख उचाली गीत गाउने म नेपाली कहिल्यै सिद्धिचरणको ओखलढुंगा पुग्छु कहिले लेखनाथको कालीगण्डकीमा रमाउँछु कहिले समको इच्छा पलाउँछ मनभरि र राष्ट्रकविको परिचयमा परिचय मिसाउँदै भानुको उज्यालो मोतीको चमकसँगै पुलकित हुन्छु नेपालको आँगनीमा कहिले शेली, कलरिज, किट्स र वर्डस्वर्थसँगै स्वच्छन्द रमाउने देवकोटाको वनमा खोजी गर्छु जीवनको। जब मेरो स्वतन्त्रतामा प्रहार गर्छ कसैले मलाई रिमालको आमाको सपनाले ब्युँझाउँछ भूपिको मेरो देशले जगाउँछ जब स्वाधीनतामा धक्का लगाउँछ कसैले र जब माधव घिमिरेको बुलन्द आवाज सुन्छु नेपाली हामी रहौंला कहाँ नेपालै नरहे अनि फेरि जाग्छु बलभद्रको आँट भक्ति थापाको साहस भीमसेनको उत्साह र अमरसिंहको गर्जन बोकेर। मलाई माधव घिमिरेको राष्ट्रनिर्माताले ब्युँझाउँछ बाँडिएका मनहरूमा अखण्ड दियो जलाउँदै एकता र आत्मीयताको निराशाको मौनतामा गीत गुञ्जाउँदै भावना र विचारको म आनन्दित र पुलकित हुँदै झुमिरहन्छु सुन्दर फूलबारीमा। म मेरो संस्कृतिको सुन्दर वाटिकामा फुलाइरहन्छु सुन्दर फूलहरू वीरताका गाथा गाउँदै कर्मयात्रामा तल्लीन रहेर मेची कालीको सुसाहटसँगै गुञ्जिन्छन् मेरा सपनाहरू। शिरमा सगरमाथा छातीमा तराई र पाखुरीमा पहाड बोकेर पूर्वको उज्यालोसँगै हिँडिरहन्छु म यो देशको मान्छे।।