श्रीलङ्कामा विक्रमासिङ्घेको मन्त्रीपरिषदमा ८ जना मन्त्री नियुक्त, अझै भेटिएनन् अर्थमन्त्री

कोलम्बो (श्रीलंका) । श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थपिएका छन् । सोमवार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष उनीहरुले शपथ ग्रहण गरेका छन् ।   देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो । त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन । राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो । लगातारको आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थाल्ने भएका छन् । मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योग मन्त्री रमेश पथिरानालाई बनाइएको छ । यद्यपि, गोतबायाले अझै पनि अर्थमन्त्री भने नियुक्त गरेका छैनन् । एजेन्सी