बाह्य पर्यटकको आगमन खोपको प्रयोगसँगै बढ्ने

विदेशस्थित नेपाली राजदूतहरूले कोभिडविरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै पर्यटक आगमन हुने बताउँदै त्यसतर्फ नेपाल तयार रहनुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रूपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरूले बताएका हुन् ।नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेटसँगसँगै […]

सम्बन्धित सामग्री

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।    पोखराका लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताए । ‘लामो समयपछि दसैं, तिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ । विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ,’ उनले भने । लेकसाइड हल्लनचोकमा ट्रेकिङ इक्वीपमेन्ट शपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको प्रतिक्रिया दिए । ‘हामीले विदेशी ग्राहक नदेखेको लामो समय भयो, यतिबेला टे«किङ जाने आन्तरिक पर्यटकका कारण पनि केही राहत मिलेको छ,’ उनले भने । हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताए । उनका अनुसार अघिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मर्दी हिमाल ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अस्ट्रेलियन क्याम्पतिर जाने गरेका छन् । होटेल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्धको खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहपहल राम्रो रहेको बताइन् । ‘पर्यटकका लागि यो उपयुक्त सिजन हो । दसैं, तिहारको समयमा आन्तरिक पाहुनाको आगमन कोभिड अगाडि पनि राम्रै हुने गथ्र्याे । तर कोभिडपछि भने अहिले राम्रो देखिएको छ,’ उनले भनिन्, ‘दशैंलगत्तै परेको झरीले गर्दा मुस्ताङ जाने पर्यटक भने केही घटेको छ ।’ सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उनको विश्वास छ । पश्चिमाञ्चल होटेल एशोसिएशनका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा ७०० पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उनको भनाइ छ । ‘करोडौंको लगानी छ, बाह्य पर्यटक नआएसम्म व्यवसायले गति लिन गाह्रो नै छ । तर अहिले सुनसान रहेको अवस्थामा आन्तरिक पर्यटकको आगमनले उत्साह थपेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रका मजदूर, कर्मचारी र व्यवसायीलाई पूर्ण खोपको सुनिश्चितताको आवश्यकता छ ।’ पर्यटन पुनरुत्थानका राज्यस्तरबाटै नीतिगत रूपमा विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय बेहोरिसकेको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले अब बिस्तारै लयमा आउने विश्वास व्यक्त गरे । ‘हालै पोखरामा ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ । अब पर्यटन पुनरुत्थानको कार्यक्रममा जोड दिनुपर्छ,’ उनले भने । पोखरामा फेवाताललगायत आसपासका पर्यटकीय गाउँ र ट्रेकिङ क्षेत्रमा आन्तरिक पाहुनाको आगमन राम्रो भएको उनले बताए । पोखराको फेवातालमा डुंगा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको संख्या पनि बढेको डुंगा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनका अनुसार अहिले दैनिक डेढ सयदेखि दुईसय डुंगा चलिरहेका छन् । फेवातालमा सात सय ७५ ओटा डुंगा छन् । त्यसैगरी साहसिक खेलका रूपमा रहेका प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप–फ्लायर, अल्ट्रालाइट उडानमा पनि आन्तरिक पर्यटक रमाइरहेका छन् । रासस