जनार्दनले फुटेज नदेखाएपछि देउवाले भने ‘कुरो बुझिहालियो, अब छोड्दिम् यार’

बजेट भाषणको अघिल्लो दिन मध्येराती अनाधिकृत व्यक्तिलाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा प्रवेश गराएर करका दरहरु हेरफेर गराएको समाचार आएपछि माओवादी अध्यक्ष प्रचण्डले शर्मासँग सोधपुछ गरे । जेठ ३० गते साँझ नै ३१ गते समाचार आउँदैछ भन्ने पूर्व सूचना मिडिया हाउसले आधिकारिक पेजमार्फत जानकारी गराएपछि अताल्लिएका प्रचण्डले हत्तपत्त जनार्दन शर्मालाई बोलाए ।शर्मालाई बोलाएर प्रचण्डले ‘के गर्नुभयो तपाईले यस्तो ?’ भनेर सोधे । माओवादी सम्बद्ध स्रोतका अनुसार जवाफमा जनार्दन शर्माले आफूले पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई बोलाएर सहयोग लिएको स्वीकार गरेका थिए ।‘मलाई मन्त्रालयमा कर्मचारीबाट सहयोग भएन, म अर्थको बारेमा जानकार मान्छे होइन, आफूसँग पर्याप्त जानकारी पनि नभएको र कर्मचारीले पनि आवश्यक सहयोग नगरेपछि मैले विज्ञका रुपमा उहाँलाई प्रयोग गरेको हुँ’ जनार्दन शर्माले प्रचण्डसामू भनेका थिए ।जवाफ सुनेपछि प्रचण्डले कड्किएर पुनः प्रश्न गरे, ‘पूर्व नायब सुब्बा पनि कहीँ विज्ञ हुन्छ ? मलाई किन्न भन्नु भएन ?’त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा केही बोलेनन् ।देउवाले भने, ‘भो भो छोड्दिम् यार’ सत्तारूढ दलभित्र समाचारमा आएको विषय सत्य हो की होइन भन्ने विषयमा के गरी पत्ता लगाउने भन्ने छलफल भयो । यसका लागि सीसीटीभी फुटेज नै हेर्ने कुरा भयो ।सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधि बसेर फुटेज हेर्ने तय भयो । तर, अर्थमन्त्री शर्माले फुटेज देखाउन मानेनन् । सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधिलाई अर्थमन्त्रीले संयुक्त रुपमा फुटेज देखाउन नचाहेको होला भनेर गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाले मात्रै हेर्ने सहमति गर्यो ।प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मासँग ‘फुटेज हेर्नुपर्यो लौ त !’ भने । देउवालाई पनि अर्थमन्त्री शर्माले फुटेज दिन मानेनन् । त्यसपछि देउवाले गठबन्धनका नेताहरुलाई भने, ‘उहाँले दिन मान्नु भएन, नमानेपछि कुरो बुझिहालियो नि यार । अब यसमा धेरै कुरा नगरौँ, छोड्दिम् ।’यसपछि गठबन्धन फुटेज नहेर्नेमा पुग्यो । प्रधानमन्त्री देउवाले नै ‘छोड्दिम्’ भनेपछि प्रचण्डलाई पनि सजिलो भयो ।असार १८ गते साँझ अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै मेटियो भन्ने जवाफ फर्कायो ।