इजरायल सरकारको ‘कृषि तारा अवार्ड’ धादिङका उद्धव न्यौपानेलाई

काठमाडौ (अस) । इजरायल सरकारले २ वर्षको अन्तरालमा दिने ५ लाख रुपैयाँ राशिको ‘दोस्रो कृषि तारा अवार्ड’ धादिङका कृषि व्यवसायी उद्धवप्रसाद न्यौपानेले प्राप्त गरेका छन् । नेपालस्थित इजरायली दूतावास र गैरसरकारी संस्था अवसर फाउन्डेसनद्वारा बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा न्यौपानेलाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो । सन् २०१३ मा एक वर्ष इजरायल गएर फर्केका न्यौपानेले नेपाल फर्केर कृषि व्यवसाय शुरू गरेका थिए । देशभरका दशजना कृषकमध्येबाट न्यौपानेलाई उत्कृष्ट कृषक घोषित गरिएको इजरायली दूतावासद्वारा विज्ञप्तिमा उल्लेख छ । इजरायल सरकारको ‘सिकाऊ र कमाऊ’ नामक कार्यक्रमअन्तर्गत नेपालका सयौं कृषक इजरायल गएका थिए । उनीहरू कृषिसम्बन्धी ज्ञान र शीप हासिल गरेपछि स्वदेश फर्केर कृषि व्यवसाय गर्दै आएका छन् । कार्यक्रमका मुख्य अतिथि रहेका कृषि तथा पशुपक्षीमन्त्री महेन्द्रप्रसाद यादवले नेपाली कृषकलाई इजरायल लगेर प्राविधिक शीप सिकाएर पठाएकोमा इजरायल सरकारलाई धन्यवाद दिए । सो अवसरमा नेपालका लागि इजरायली राजदूत हानान गोदरले नेपालका कृषकलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।