चौरजहारीको पीसीआर ल्याब पुनः सञ्चालन

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा रहेको पीसीआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ । चौरजहारी नगरपालिकामा झन्डै ६ महिनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको  हो । कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको हो । आर्थिक समस्याका कारण बन्द पीसीआर ल्याब ६ महिनापछि पुनः सुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्री व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द थियो । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले  जानकारी दिए । उनले भने,  ‘तत्काल करिब २ सय किट खरिद गरिएको छ । जिल्लामा संकलित स्वाब परीक्षणका लागि सुर्खेत पठाउनुपर्ने बाध्यता रहेकाले ल्याब सुरु गरेका हौं  ।’ कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमुना परिक्षण भइरहेको छ । प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष  १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको थियो ।