रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्कासन गर्न सेबोनबाट पाए स्वीकृति

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका छन् । रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले हकप्रद निष्कासनको लागि पुस १९ गते बोर्डबाट अनुमति पाएको नेप्सेमार्फत जानकारी दिएका हुन् ।  अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । अब कम्पनीले १ करोड ८६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्वीकृति पाएसँगै कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ३२ करोडभन्दा बढी पुग्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

सम्बन्धित सामग्री

आयोजना निर्माण र ऋण तिर्न हकप्रद रोज्दै जलविद्युत् कम्पनी

काठमाडौं । आयोजना निर्माण र ऋण तिर्न ११ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन  गर्ने योजना बनाएका छन् । जलविद्युत् कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । ११ कम्पनीमध्ये अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीले आयोजना निर्माणका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । अरुण भ्याली हाइड्रोपावरले आयोजना निर्माण र ऋण तिर्न हकप्रद विक्री गर्न लागेको जानकारी गराएको छ ।  अरुण काबेली पावर, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र रिडी पावर कम्पनीले ऋण तिर्न हकप्रद विक्री गर्ने निर्णय गरेका हुन् । यी कम्पनीमध्ये कतिपयले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्याल भन्छन्, ‘कम्पनीहरूले विवेकपूर्ण निर्णय लिनुपर्छ । हकप्रद शेयर निष्कासन गर्न नपाउने भन्ने हुँदैन तर यो कत्तिको विवेकपूर्ण निर्णय हो ? कम्पनी डुब्ने अवस्थामा यस्तो गर्नुपर्छ तर सामान्य अवस्थामा नाफा कमाएरै ऋण तिर्नुपर्ने हो । ऋण तिर्नकै लागि हकप्रद शेयर जारी गर्नु राम्रो होइन ।’ अधिवक्ता ज्योति दाहालका अनुसार ऋण तिर्नकै लागि हकप्रद शेयर विक्री गर्नु राम्रो होइन । ‘ऋणमुक्त भएपछि आम्दानी बढ्छ भन्ने शेयरधनीहरू नै हुन् । हाइड्रोपावर कम्पनीले स्वपूँजी र ऋण अनुपात सामान्य अवस्थामा हुँदाहुँदै ऋणमोचन गर्न जुन प्रकारले हकप्रदको घोषणा गरिरहेका छन्, यसले कम्पनीको प्रतिशेयर आम्दानीलाई ध्वस्त पारेर कम्पनीलाई नै धराशयी बनाउँछ,’ दाहालले भने । नेपालको शेयरबजारमा अत्यन्तै लोकप्रिय बनाइएको हकप्रदले कम्पनीलाई अपवादबाहेक तत्काल वा दीर्घकालमा कुनै फाइदा नहुने दाहालको तर्क छ । हालसम्ममा सिनर्जी पावर, अपि पावर, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी र अरुण काबेलीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । अपि पावर कम्पनीले हालको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न गत चैत ६ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो । हाल अपि पावरको चुक्ता पूँजी ४ अर्ब १३ करोड छ । ४० प्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुनेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो । अपर तामाकोशी हाइड्रोपावरले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन १८ गते सेबोनमा निवेदन दिएको छ । यसको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड हो । हाल तामाकोशीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासनपछि पूँजी २१ अर्ब १८ करोड पुग्नेछ । तामाकोशीले हकप्रद विक्रीबाट प्राप्त रकम कम्पनीका जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला र तामाकोशी–५ आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।  अरुण काबेली पावर कम्पनीले पनि १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७८ कात्तिक २८ गते सेबोनमा निवेदन दिएको थियो । यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड हो । हाल अरुण काबेलीको चुक्ता पूँजी १ अर्ब ८५ करोड छ । शतप्रतिशत हकप्रद विक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७१ करोडभन्दा माथि पुग्नेछ ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्दै छ । कम्पनीले हकप्रद निष्कासन गर्न सेबोनमा जेठ २२ गते निवेदन दिएको हो । छ्याङ्दीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड हो । यसले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न चाहेको छ । हाल छ्याङ्दीको चुक्तापूँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । हकप्रद विक्रीपछि कम्पनीको पूँजी ७७ करोड ३९ लाख पुग्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २:१ अनुपातमा हकप्रद निष्कासनका लागि गत फागुन ५ गते सेबोनमा निवेदन दिएको छ । सिनर्जीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख रुपैयाँ छ । अरुण भ्यालीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर, रिडी पावर र शिवश्री हाइड्रोपावरको सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय मात्रै गरेका छन् । उक्त निर्णय साधारणसभाबाट पारित हुन र विद्युत नियमन आयोगबाट स्वीकृत हुन बाँकी छ । साधारणसभाबाट निर्णय पारित भई आयोगले स्वीकृति दिएपछि यी कम्पनीले सेबोनमा निवेदन दिनुपर्छ ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोडको शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।  हकप्रद विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत् आयोजना (३० मेगावाट) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी त्यत्ति नै रकम कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्न बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने बताइएको छ ।  यसले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । घलेम्दी हाइड्रोले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रद निष्कासनको निर्णय साधारणसभाले पारित गरिसकेको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभास्थित छुजुङ खोला जलविद्युत् आयोजनामा लगानी गर्न कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । हाल घलेम्दीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।  हिमालयन ऊर्जा विकास कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकमले बैंकको दीर्घकालीन ऋण भुक्तानी गर्ने निर्णय गरेको छ । आँखुखोला जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागेको हो ।  रिडी पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।  त्यस्तै शिवश्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । शिवश्रीले बैंक ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने निर्णय गरेको बताएको छ ।