माईपे डिजिटल वालेटको सेवा सुरु, २५ प्रतिशत क्यास ब्याक अफर

डिजिटल नेपाल बनाउने अभियानमा अर्काे विद्युतीय भुक्तानी सेवा प्रदायक वालेट माईपे (MYPAY) पनि थपिएको छ । पछिल्ला दिनहरुमा नेपालीहरु डिजिटल प्रविधि प्रति आकर्षित भइरहेको बेलामा स्मार्ट कार्ड नेपाल प्रा लिले नयाँ वालेट संचालनमा ल्याएको हो ।हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिने स्मार्ट कार्ड प्रालीले जनाएको छ । पहिलो पटक वालेट प्रयोग गर्दा २५ प्रतिशत वा अधिकतम रु १०० रुपैयाँसम्म क्यासब्याक अफर सहित वालेटले सेवा सुरु गरेको हो । आगामी दिनमा समेत विभिन्न उत्साहजनक अफरहरु ल्याउने माईपेले बताएको छ । कम्पनीका अनुसार  हाल माईपेले सामान्य सेवाहरु सहित आफ्नो प्रणालीको स्थायित्व परीक्षण गरिरहेको छ । हाल मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरु रहेका छन् । त्यसबाहेक वालेटबाट टिभीको बिल भुक्तानी गर्न सकिन्छ । वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले हाल संचालनमा रहेको बिद्युतिय भुक्तानी सेवा प्रदायकहरुको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शौलिलाई चिर्दै माईपेले ग्राहकहरुको आवश्यकता र दुःख बुुझेर  नवीनतम सेवा तथा सुविधाहरुको स्वाद दिने बताए । उनले सर्वसाधारणलाई अति आवश्यक सेवाहरु डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका बताए।उनले भने ‘अहिले हामीले परीक्षणका रुपमा केही विशेषताहरु मात्रै राखेर माईपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टैनै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरु सहितको पूर्ण रुपको वालेट सार्वजनिक गर्नेछौं’ । उनले भविष्यमा वालेटको परिभाषा नै बदल्ने गरी भुक्तानी सेवा मात्रै नभई अन्य अत्यावश्यक सेवाहरु माईपेमा थपिने प्रतिवद्दता व्यक्त गरेका छन् ।झन्डै दुुई वर्षअघि कोभिडको संक्रमण विश्वव्यापी महामारीको रुप लिँदै नेपाल भित्रिएपछि नेपालमा डिजिटल कारोबारको संख्या ह्वात्तै बढेको थियो । भिडभाडमा जानु नपर्ने र घरबाटै सजिलै भुक्तानी गर्न सकिने भएकाले पनि डिजिटल भुक्तानी प्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपालमा हाल २७ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक संचालनमा रहेको छ । यसैबिच संचालनमा आएको माईपेका सामु वालेटका प्रयाय बनेका अन्य वालेटसँग प्रतिस्प्रर्धा गर्नु निकै चुनौतिपूर्ण देखिन्छ ।