बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेको भन्दै सरकारले बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैंतिहार लगायतका चाडपर्वमा सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल अहिले पनि सञ्चालन गर्ने तयारी गरेको हो ।
कोरोनाको त्राससँगै व्यापारीहरूले बजारमा दैनिक उपोभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली गरेका भन्दै व्यापक जनगुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तायरी गरेको जानकारी दिए ।