ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको शुभारम्भ

काठमाडौं (अस) । कृषि मन्त्रालयले विश्व बैंकसँग मिलेर ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड)का लागि ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’को कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भाेसले बिहीवार संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । सो अवसरमा कृषिमन्त्री यादवले कृषि क्षेत्रको रूपान्तरण गर्न कार्यक्रम शुरू गरिएको बताए । उनका अनुसार साना किसान र सहकारीले उत्पादन गरेको वस्तुहरूलाई बजारसम्म सुनिश्चित गर्न यो परियोजना महत्त्वपूर्ण हुनेछ । साना उत्पादक र किसानको आय बढाउन, कृषि उद्यमशीलता प्रवद्र्धन गर्न र ग्रामीण नेपालमा रोजगारी सृजना गर्न मद्दत गर्ने उनको भनाइ छ । विश्व बैंकका देशीय निर्देशक जेर्भाेसले परियोजनाले नेपालको समावेशी विकासलाई सघाउ पुग्ने बताए । परियोजनाले कफी, चिया, फलफूल र औषधि उत्पादनहरू जस्ता धेरै विशिष्ट क्षेत्रहरूलाई उत्प्रेरित गर्ने उनको विश्वास छ ।   आयोजनाबाट कोभिड–१९ पछिको पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । साथै रोजगारी सृजना गर्दै ग्रामीण बजार सम्बन्ध सुदृढ गर्ने, उद्यमशीलता प्रवद्र्धन गरी नेपालको कृषि क्षेत्रलाई बढावा दिने लक्ष्य राखिएको छ । ग्रामीण उद्यमीहरूका लागि दिगो सम्बन्ध बढाउन प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलाई समेट्ने पाँचओटा आर्थिक कोरिडोरका चुनिएका नगरपालिकाहरूमा यो परियोजना कार्यान्वयन गरिँदै छ । यो परियोजना सरकारको कृषि विकास रणनीति सन् २०१५–२०३५ सँग मिल्दोजुल्दो रहेको विश्व बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । परियोजनाले पूर्वाधार निर्माणमा कामका लागि समेत सघाउ पु¥याउने र महिलासहित ५ हजार ७०० भन्दा बढी व्यक्तिका लागि छोटो अवधिको रोजगारी सृजना गर्ने विश्व बैंकको अपेक्षा छ ।

सम्बन्धित सामग्री

नायव कृषि/ पशु सेवा प्राविधिक सहायकका लागि ३९ जना कर्मचारी आवश्यकता

चैत २३, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना निर्देशकको कार्यालयले नायव कृषि/ पशु सेवा प्राविधिक सहायक माग गरेको छ ।  आयोजनाले बुधवार सूचना जारी गर्दै रिक्त कृषि र पशुपन्छी/ मत्स्यतर्फ ३९  जना कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नागरिकले आयोजना निर्देशकको कार्यालय, हरिहरभवनमा आयोजनाको वेबसाइटबाट फर्म डाउनलोड गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, शेक्षिक योग्यता तथा तालिमको प्रमाणपत्रसहित विवरण भरी पेश गर्नुपर्नेछ । साथै इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिन सक्नेछन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन

सिरहा । सिरहाका पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिका तथा सिरहा नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजनाअन्तर्गत बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने आर्थिक करिडोर प्राविधिक तथा समन्वय समितिका सदस्य सचिव डा. चन्द्रप्रसाद रिसालले जानकारी दिए ।  हुलाकी सडक आसपासका स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको सदस्य सचिव रिमालले बताए । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल र विश्व बैंकबीच ०७७ पुस ६ गते सम्झौता भएको थियो । सोही कार्यक्रमअन्तर्गत प्रदेश २ का आठ वटै जिल्लामा सन् २०२५ सम्म कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश २ का ८४ स्थानीय तहमा पूर्वमा सप्तरी र पश्चिममा पर्साका गरी आठ वटा जिल्लाका हुलाकी राजमार्गसँग जोडिएको पालिकामा सो कार्यक्रम सञ्चालन हुने बताइएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान संघीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति शृंखला तथा स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ । यस्तै, चौथोमा परियोजना कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिनेछ । रासस

चौरासी स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुने

हुलाकी राजमार्गले छोएको प्रदेश २ को ८४ स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । पूर्वमा सप्तरी र पश्चिममा पर्सा गरी आठ जिल्लामा हुलाकी राजमार्गले छोएको पालिकाहरुमा ग्रामीण्म उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो ।

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]