बुद्धको भद्रपुर–पोखरा उडान वैशाख २ देखि

काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट दैनिक पोखरा सीधा उडान गर्ने भएको छ । उक्त रूटमा जहाज सञ्चालनका लागि कम्पनीले उडान तालिकासहित भाडादर पनि सार्वजनिक गरेको छ । बुद्ध एयरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्ष २०७९ को अवसर पारी यो रूटमा उडान गर्ने जानकारी दिएको हो । यस रूटका लागि बुद्धले शुरुआती भाडादर रू. ६ हजार ९०० कायम गरेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ बजेर २५ मिनेट र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने तालिका छ । यो रूटको उडानबाट दुवै प्रदेशका बासिन्दा मात्र लाभान्वित नभई सीमापारि सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने कम्पनीको दाबी छ । सीमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट सिधा पोखरा जान सक्नेछन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरूको पनि पर्यटकले अवलोकन गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ । भद्रपुर–पोखराका लागि रू. १५ हजारमा २ रात ३ दिनको प्याकेज बुद्ध होलिडेजले सार्वजनिक गरेको छ । उक्त प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट हुने कम्पनीले उल्लेख गरेको छ । बुद्ध एयरले काठमाडौंबाहेक पोखरालाई देशका विभिन्न प्रदेशसँग सीधा उडानले जोड्दै आएको छ । कम्पनीले यसअघि नै भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सीधा पोखरा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११, ४२ सिटे एटीआर–४२ जहाज ३ र दुईओटा बीचक्राफ्ट जहाज छन् ।